Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पल्टुराम निक्लिए जितेन्द्रनारायण देव, चाैथाे पटक एमाले त्यागेर कांग्रेस प्रवेश

राजविराज । पूर्वमन्त्री तथा संविधानसभा सदस्य जितेन्द्रनारायण देव पुनः नेपाली कांग्रेसमा फर्किएका छन्। मंगलबार राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा स्वागत गरिएको हो।

जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल तथा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई टीका–माला लगाएर पार्टीमा प्रवेश गराएका थिए।

पार्टी प्रवेशपछि देवले सभापति गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरे। उनले विशेष राष्ट्रिय महाधिवेशनबाट पारित नयाँ नीति र अग्रगमनकारी सोचलाई आत्मसात् गर्दै सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई निर्णायक रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

यसअघि विज्ञप्ति जारी गर्दै देवले आफू र आफ्ना समर्थकहरू औपचारिक रूपमा कांग्रेसमा फर्किएको घोषणा गरेका थिए। उनले नयाँ नेतृत्वले पार्टी रूपान्तरणको अभियान सुरु गरिसकेको दाबी गर्दै त्यसलाई देश रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका छन्।
देवले गत माघ १९ गते नेकपा एमाले परित्याग गरेका थिए। त्यसअघि असार २०८१ मा कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका थिए। उनी यसअघि कांग्रेसबाट राष्ट्रियसभा सदस्यसमेत बनेका थिए।

करिब चार दशक लामो राजनीतिक यात्रामा देवले विभिन्न दलहरूसँग आबद्धता राख्दै आएका छन्। कांग्रेससँगै उनले नेकपा मानन्धर, नेकपा एमाले, नेकपा माले, मधेसी जनअधिकार फोरम तथा लोकतान्त्रिक फोरममा सक्रिय भूमिका निर्वाह गरिसकेका छन्।

पछिल्लो निर्णयसँगै मधेस केन्द्रित राजनीतिमा उनको पुनः सक्रियता र कांग्रेसभित्रको आन्तरिक समीकरणमा पर्ने प्रभावबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार