Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सहकारी प्रकरणमा मतदाताको प्रश्न, रवि लामिछानेले के दिए स्पष्टीकरण ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवनमा घरदैलो अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणबारे मतदाताको प्रश्नको सामना गरेका छन्। भरतपुरमा भेटघाटका क्रममा एक वृद्ध मतदाताले उनलाई जीबी राईसँग जोडिएको विषय उठाउँदै स्पष्टीकरण मागेका थिए।

जवाफमा लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई सहकारीबाट पैसा ल्याउने प्रक्रियामा संलग्न नदेखाएको दाबी गरे। कम्पनीमा आइसकेको रकम सञ्चालनको विषयमा मात्रै आफू जिम्मेवार बनाइएको उनले बताए। “सहकारीको जिम्मेवार होइन, कम्पनीको जिम्मेवार बनाइएको हो,” उनले भने।

आफूविरुद्ध अनावश्यक रूपमा मुद्दा दायर गरिएको दाबी गर्दै उनले अदालतमा मुद्दा खेपिरहेको र कानुनी प्रक्रियामा सहयोग गरिरहेको बताए। गृहमन्त्री हुँदा सहकारी समस्या समाधानका लागि प्रयास गरेको उल्लेख गर्दै उनले बचतकर्ताले रकम फिर्ता पाउनुपर्नेमा आफू स्पष्ट रहेको धारणा राखे। धरौटी रकम बुझाएको प्रसंग उल्लेख गर्दै उनले दोषी ठहरिए सोही रकमबाट क्षतिपूर्ति लिन सकिने बताए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार