NL न्यूज
नेपाल लिड । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना सञ्चालनका लागि करिब ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा ऋण सम्झौता भएको हो ।
जाइकामार्फत उपलब्ध हुने यो ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत रहनेछ। आयोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी क्षेत्रका लागि अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौँ, ललितपुर, भक्तपुर र वि.पि. राजमार्गमार्ग हुँदै चल्ने सवारीको आवागमन सहज बनाउने र ट्राफिक जाम कम गर्ने अपेक्षा गरिएको छ।
आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुनेछ।
सम्झौतासँग सम्बन्धित एक्सचेञ्ज अफ नोटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै, ऋण सम्झौतामा सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे।
सम्बन्धित समाचार





प्रतिक्रिया दिनुहोस्