Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

श्रम संस्कृति पार्टीको घोषणापत्र, हर्कवादसहित अनिवार्य श्रमको राष्ट्रिय अभियान

काठमाडौं । श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र तयार पारेको छ। हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीले अनिवार्य श्रम र श्रमदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने घोषणा गरेको छ।

घोषणापत्रमार्फत पार्टीले “हर्कवाद” नामक नयाँ राजनीतिक दर्शन प्रस्तुत गर्दै प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासमार्फत आत्मनिर्भर, समृद्ध र स्वाधीन राष्ट्र निर्माण गर्ने लक्ष्य अघि सारेको छ। श्रमलाई सर्वोच्च मूल्यका रूपमा स्थापित गर्दै अल्छीपन, भ्रष्टाचार, विभेद र परनिर्भरता अन्त्य गर्ने मुख्य उपाय श्रम र श्रमदान नै हुने दाबी गरिएको छ।

शासकीय संरचनामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरिएको छ। एक कार्यकाल पाँच वर्षको हुने र एक व्यक्ति दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था उल्लेख छ। संघीय संसद दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक हुने योजना घोषणापत्रमा समेटिएको छ।

अर्थतन्त्रतर्फ कृषि, उद्योग, जडीबुटी, खानी, ऊर्जा र प्रविधिमा आधारित आत्मनिर्भर मोडल अघि सारिएको छ। कृषिलाई पहिलो प्राथमिकतामा राख्दै बजेट वृद्धि, उन्नत बीउ–मल उत्पादन, सिंचाइ विस्तार, सामुदायिक खेती र कृषि उद्योग स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ। आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई दीर्घकालीन रणनीतिका रूपमा लिइएको छ।

शिक्षामा जीवनोपयोगी र व्यवहारिक प्रणाली लागू गर्दै हप्तामा तीन दिन सैद्धान्तिक र चार दिन व्यवहारिक श्रम तथा सीपमूलक तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। कक्षा १२ पछि अनिवार्य ६ महिने सैनिक तालिमसमेत समावेश गरिएको छ।

स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा निःशुल्क, स्वास्थ्य तथा शिक्षा बीमा विस्तार, वृद्ध तथा अपाङ्ग भत्ता वृद्धि गर्ने नीति अघि सारिएको छ। साथै डिजिटल आर्थिक प्रणालीमार्फत अवैध सम्पत्ति नियन्त्रण, स्रोत नखुलेको सम्पत्ति जफत, सरकारी बैठकहरू लाइभ प्रसारण र मितव्ययी शासन प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएको छ। घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको पार्टी स्रोतले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार