Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राइजिङ स्टार्स महिला एसिया कपमा पाकिस्तान ‘ए’ सँग नेपालको हार

काठमाडौं । राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट अन्तर्गत थाइल्यान्डमा आजदेखि सुरु प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ।
नेपालले पाकिस्तान ए महिला क्रिकेट टोली सँग ३० रनले हार व्यहोरेको हो। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाइन्। सीता राना मगर १५ रनमा अविजित रहिन् भने कविता कुँवर १३ रनमा नटआउट रहिन्। कप्तान पूजा महतोले ११ रन जोडिन्।

पाकिस्तानतर्फ अनोशा नासिरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन्। मोमिना रियासतले २ विकेट हात पारिन् भने वाहीदा अख्तरले १ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। कप्तान हफ्सा खालिदले अविजित ४८ रनको योगदान दिइन्। वाहीदा अख्तरले २३ तथा हुरेना सजादले १७ रन बनाइन्।

नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् भने मनिषा उपाध्याय, रिया शर्मा, सीता राना मगर र रुबिना क्षेत्रीले समान १–१ विकेट लिए।
नेपालले अब दोस्रो खेलमा आइतबार भारत ए महिला क्रिकेट टोली सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई महिला क्रिकेट टोली सँग रहेको छ।

समूह ‘बी’ मा बंगलादेश ए महिला क्रिकेट टोली, श्रीलंका ए महिला क्रिकेट टोली, मलेसिया महिला क्रिकेट टोली र थाइल्यान्ड महिला क्रिकेट टोली रहेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार