NL न्यूज
मधेश प्रदेशअन्तर्गत रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । गाउँ–नगरमा घरदैलो अभियान चलिरहेका छन् भने मतदाताले विकास, रोजगारी, पूर्वाधार र राजनीतिक स्थायित्वका विषयमा स्पष्ट दृष्टिकोण खोजिरहेका छन् ।
यो क्षेत्र परम्परागत रूपमा व्यक्तित्व–केन्द्रित राजनीति र दलगत समीकरण दुवैका लागि परिचित मानिन्छ । विशेषगरी प्रभावशाली नेताहरूको उपस्थितिले यहाँको चुनाव सधैं चर्चामा रहने गरेको छ ।
मतदाता संख्या वृद्धि, ४० उम्मेदवार प्रतिस्पर्धामा
यसपटक रौतहट–३ मा १ लाख ८ हजार ६९९ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा १ लाख ४ हजार २९० मतदाता रहेकोमा अहिले ४ हजार ४०९ मतदाता थपिएका छन् । निर्वाचनमा १६ राजनीतिक दल र २४ स्वतन्त्र उम्मेदवार गरी ४० भन्दा बढी उम्मेदवार मैदानमा छन् । बहुदलीय प्रतिस्पर्धाले चुनावी समीकरणलाई जटिल बनाएको छ ।
कुन–कुन स्थानीय तह समेटिन्छ ?
गरुडा नगरपालिका (वडा ५–७)
कटहरिया नगरपालिका (वडा १–९)
गुजरा नगरपालिका (वडा १–९)
देवाही गोनाही नगरपालिका (वडा ५–९)
फतुवा विजयपुर नगरपालिका (वडा १–११)
मौलापुर नगरपालिका (वडा १–५, ८ र ९)
कृषि, सिंचाइ, सडक स्तरोन्नति, शिक्षा र स्वास्थ्य सेवा यहाँका प्रमुख चुनावी मुद्दा बनेका छन् । वैदेशिक रोजगारी र युवाको पलायन पनि मतदाताको चासोको विषय बनेको छ ।
मुख्य प्रतिस्पर्धी को–को ?
• आम जनता पार्टी — प्रभु साह
• नेकपा (एमाले) — कुन्दनप्रसाद कुशवाहा
• नेपाली कांग्रेस — रामकृपाल प्रसाद यादव
• नेकपा — पुनम देवी
• राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) — रवीन्द्र पटेल
• राप्रपा — सिकिन्द्र राय यादव
• जसपा नेपाल — गोविन्द चौधरी
• जनमत पार्टी — शेख प्रवेज आलम
यस बाहेक नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मंगोल अर्गनाइजेशन, संयुक्त नागरिक पार्टी, श्रम संस्कृति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपालसहितका दल र स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् ।
प्रभु साहको निरन्तर उपस्थिति
रौतहट–३ मा आम जनता पार्टीका प्रभु साह निरन्तर यही क्षेत्रबाट उम्मेदवार बन्ने गरेका छन् । माओवादीबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका साह विभिन्न मन्त्रालय सम्हालिसकेका अनुभवी नेता हुन् । २०६८ सालमा कानुनमन्त्री, त्यसपछि २०७४ मा शहरी मन्त्री समेत भइसकेका हुन् । उनी भूमि व्यवस्थापन, सहकारी र गरिबी निवारण मन्त्री पनि बनिसकेका छन् ।
२०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा ३२,४३७ मत ल्याउँदै विजयी भएका थिए । यसपटक आफ्नै दलबाट चुनावी प्रतिस्पर्धामा छन् । व्यक्तिगत प्रभाव र पुरानो संगठन उनको मुख्य आधार मानिन्छ ।
एमाले उम्मेदवार कुन्दनप्रसाद कुशवाहा
कुन्दनप्रसाद कुशवाहा एमालेबाट प्रत्याशी हुन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सांसद चुनिएका उनी २०७९ को निर्वाचनमा प्रभु साहको समूहबाट स्वतन्त्र उम्मेदवार बन्दा पराजित भएका थिए । गत वर्ष मात्र आम जनता पार्टी छोडेर एमाले प्रवेश गरेका कुशवाहा स्थानीय नेता हुन् ।
कांग्रेसका रामकृपाल प्रसाद यादव
कांग्रेसले स्थानीय शिक्षक रहिसकेका रामकृपाल प्रसाद यादवलाई उम्मेदवार बनाएको छ । उनी नेपाल शिक्षक महासंघ रौतहट जिल्लाका अध्यक्षसमेत रहिसकेका छन् । उनी स्थानीयस्तरमा भिजेका नेताका रुपमा चिनिन्छन् ।
रास्वपाबाट रवीन्द्र पटेल
तत्कालीन नेकपा माओवादी केन्द्रमा सक्रिय रहँदा धीरज भनिने रवीन्द्र पटेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रौतहट क्षेत्र नं ३ को उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादी उम्मेदवार बनेका पटेल यसपटक रास्वपातिर मोडिएका छन् । पटेल यसपटक वैकल्पिक राजनीतिक धार लिएर मैदानमा छन् ।
अन्य उम्मेदवार
नेकपाबाट पुनम देवी उम्मेदवार बनेकी छन् । युवा र स्थानीय पहिचान उनको बल मानिन्छ । जसपा, जनमतलगायत मधेश–केन्द्रित दलहरूले पहिचान र क्षेत्रीय मुद्दालाई प्राथमिकता दिएका छन् ।
२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ (२०७९)
• स्वतन्त्र — प्रभु साह : ३२,४३७ मत (विजयी)
• स्वतन्त्र — ओमप्रकाश : २५,२०० मत
• माओवादी केन्द्र — रवीन्द्र पटेल : ८,५५८ मत
• नागरिक उन्मुक्ति — नागेन्द्र चौधरी : १,७२३ मत
• रास्वपा — नविनप्रसाद चौरसिया : १,००६ मत
समानुपातिकतर्फ
• कांग्रेस — १७,१४३
• जसपा नेपाल — ८,९८५
• जनमत — ८,०७६
• एकीकृत समाजवादी — ६,८६८
• माओवादी केन्द्र — ६,६९५
• नागरिक उन्मुक्ति — ५,४३८
• एमाले — ३,९९३
• नेपाल संघीय समाजवादी पार्टी — ३,४७४
• रास्वपा — २,४४१
• लोसपा — १,०४६
यसपटक किन पेचिलो ?
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रभु साहको स्पष्ट जित रहेको यो क्षेत्रमा यसपटक दलीय प्रतिस्पर्धा थप कडा देखिन्छ । एमाले र कांग्रेस संगठन सुदृढ गरेर मैदानमा उत्रिएका छन् भने रास्वपाले नयाँ मतदाता र युवालाई आकर्षित गर्दै छ । र मधेश–केन्द्रित दलहरु मधेशका मुद्दा उछाल्ने योजनामा छन् ।
व्यक्तिगत प्रभाव र दलीय मताधार, स्थानीय विकास तथा राष्ट्रिय राजनीति — यी दुई आयामबीच रौतहट–३ को चुनाव घुमिरहेको देखिन्छ ।
मतदाता संख्या वृद्धि, दल परिवर्तन र बहुदलीय प्रतिस्पर्धाका कारण यो क्षेत्र मधेश प्रदेशकै रोचक निर्वाचन क्षेत्रमध्ये एक मानिएको छ । यहाँको परिणामले क्षेत्रीय मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत सन्देश दिने विश्लेषण गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्