NL न्यूज
रौतहट । मधेश प्रदेशअन्तर्गत रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् भने मतदाताहरू विकास र दैनिकीसँग जोडिएका मुद्दामा स्पष्ट जवाफ खोजिरहेका छन् । यस क्षेत्रका बासिन्दाले विशेषगरी बाँधको अवस्था, वर्षेनी दोहोरिने डुबान समस्या र नदी नियन्त्रणका उपायबारे उम्मेदवारलाई कठोर प्रश्न गरिरहेका छन् । त्यस्तै स्वास्थ्य सेवा, शिक्षाको गुणस्तर, सडक तथा आधारभूत पूर्वाधारका विषय पनि मतदाताको प्राथमिक चासोमा परेको देखिन्छ ।
मतदाता संख्या वृद्धि, २६ उम्मेदवार मैदानमा
यसपटक रौतहट–२ मा १ लाख ८ हजार ८७२ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा १ लाख ७१६ मतदाता रहेकोमा अहिले ८ हजार १५६ मतदाता थपिएका छन् । निर्वाचन क्षेत्रमा १४ राजनीतिक दल र १२ स्वतन्त्र उम्मेदवार गरी कुल २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
कुन–कुन स्थानीय तह समेटिन्छ ?
यो निर्वाचन क्षेत्रमा ईशनाथ नगरपालिकाका वडा नम्बर १ देखि ९, देबाही गोनाही नगरपालिकाका वडा १ देखि ४, परोहा नगरपालिकाका १ देखि ९, बौधीमाइ नगरपालिकाका १ देखि ९, मौलापुर नगरपालिकाका वडा ६ र ७ तथा राजपुर नगरपालिकाका सबै ९ वडा समावेश छन् ।
भौगोलिक रूपमा बाढी तथा डुबान प्रभावित क्षेत्र भएकाले नदी नियन्त्रण र तटबन्ध व्यवस्थापन यहाँको स्थायी चुनावी मुद्दा रहँदै आएको छ ।
मुख्य प्रतिस्पर्धी को–को ?
नेकपा (एमाले) — महम्मद अतिउल्लाह
नेपाली कांग्रेस — मो. फिरदोश आलम
नेकपा — किरणकुमार साह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) — शेख सगिर
राप्रपा — रविन्द्र साह
जसपा नेपाल — रामअशिष राय यादव
जनमत पार्टी — सोनु कुशवाहा
यीबाहेक नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, उज्यालो नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, आम जनता पार्टी तथा स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् ।
२०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका किरणकुमार साह यसपटक नेकपाबाट उम्मेदवार बनेका छन् । साह २०७७ सालमा जसपा छाडेर एमाले प्रवेश गरेका थिए । तर यसपटक एमालेबाट टिकट नपाएपछि नेकपा रोज्दै पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । अघिल्लो कार्यकालको मूल्यांकन र व्यक्तिगत प्रभाव यसपटक उनको मुख्य आधार मानिएको छ । कांग्रेसले मो. फिरदोश आलमलाई उम्मेदवार बनाएको छ । उनी पूर्वमन्त्री अफताव आलमका छोरा हुन् । अफताव आलम बम काण्डका आरोपीका रूपमा चर्चामा रहेका थिए र उनको निधन भइसकेको छ । फिरदोश आलमले कांग्रेसको परम्परागत मताधार, संगठनात्मक संरचना र पारिवारिक राजनीतिक प्रभावलाई आधार बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।
एमालेका महम्मद अतिउल्लाह संगठनात्मक मत जोगाउने रणनीतिमा छन् भने जसपा नेपाल र जनमत पार्टीले मधेश–केन्द्रित मुद्दालाई जोड दिएका छन् । रास्वपाले वैकल्पिक राजनीतिक एजेन्डासहित शेख सगिरलाई अघि सारेको छ । राप्रपाले पनि आफ्ना मतदातालाई संगठित गर्ने प्रयास गरिरहेको छ ।
२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ (२०७९)
स्वतन्त्र — किरणकुमार साह : ३२,८४२ मत (विजयी)
कांग्रेस — मो. फिरदोस आलम : २८,२४८ मत
जसपा नेपाल — शैलेन्द्र शाह : २,१२२ मत
जनमत — रामअयस झा : १,००४ मत
अन्य उम्मेदवारको मत न्यून थियो ।
समानुपातिकतर्फ
कांग्रेस — १५,३६५
एमाले — १२,०१४
जसपा नेपाल — ९,४०१
जनमत — ८,००९
एकीकृत समाजवादी — ७,०७५
माओवादी केन्द्र — ४,७१६
नेपाल संघीय समाजवादी पार्टी — २,९४७
लोसपा — १,४१९
यसपटक किन पेचिलो ?
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जित निकालेको यो क्षेत्रमा यसपटक दलीय प्रतिस्पर्धा थप कडा बनेको छ । विजयी उम्मेदवारको पार्टी परिवर्तन, कांग्रेसको आक्रामक तयारी, एमालेको संगठनात्मक शक्ति तथा मधेश–केन्द्रित दलहरूको प्रभावले चुनावी समीकरण जटिल बनेको छ । रास्वपाले नयाँ मतदातालाई आकर्षण गर्दै एक पटक मौका मागेको छ ।
बाँध, डुबान, स्वास्थ्य, शिक्षा र रोजगारीका सवालमा मतदाता बढी सचेत देखिएकाले यसपटक भावनात्मकभन्दा पनि कार्यसम्पादन र स्पष्ट योजनामा आधारित मतदान हुने विश्लेषण गरिएको छ । रौतहट–२ को परिणामले मधेश प्रदेशको राजनीतिक दिशामा समेत प्रभाव पार्ने आँकलन गरिएको छ ।०००





प्रतिक्रिया दिनुहोस्