Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सर्लाही ३ मा चारपक्षीय भिडन्त, नारायणकाजीलाई एमालेका हरि उप्रेतीले रोक्लान् ? घण्टी के होला ?

सर्लाही ।  निर्वाचनको ‘इपी सेन्टर’ बनेको छ सर्लाही । मधेश केन्द्रित रणनीतिसहित प्रमुख राजनीतिक दलहरूले ८ जिल्लाका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सर्लाहीलाई विशेष प्राथमिकतामा राखेका छन् । सर्लाहीका निर्वाचन क्षेत्रहरू यतिबेला ठूला नेताहरूको केन्द्र बनेका छन् ।

सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा उम्मेदवार बन्दा सर्लाही–३ मा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ मैदानमा छन् । उनलाई एमालेका केन्द्रीय नेता हरि उप्रेतीले कडा चुनौती दिइरहेका छन् । उप्रेती अघिल्लो पटक रक्षामन्त्री बनेका थिए भने नारायणकाजी श्रेष्ठ गृह, परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री भइसकेका नेता हुन् ।

कांग्रेसले स्थानीय नेता विनोदकुमार खनाललाई मैदानमा उतारेको छ । स्थानीयस्तरमा भिजेका खनाल ठूला नेताका लागि भारी पर्न सक्ने आँकलन गरिएको छ । यस्तै, रास्वपाका नरेन्द्र साह कलवार पनि कम आँक्न नमिल्ने उम्मेदवारका रूपमा छन् । उनी पूर्वमाओवादी हुन् ।

मतदाता र उम्मेदवार संख्या
सर्लाही क्षेत्र नं ३ मा यसपटक १,३४,४१२ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा यहाँ १,२७,८३४ मतदाता थिए । यसपटक ६,५७८ मतदाता थपिएसँगै चुनावी समीकरण थप रोचक बनेको छ । यो क्षेत्रमा १५ राजनीतिक दल र १९ स्वतन्त्र उम्मेदवार गरी ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य प्रतिस्पर्धी
एमाले — हरि उप्रेती
कांग्रेस — विनोदकुमार खनाल
नेकपा — नारायणकाजी श्रेष्ठ
रास्वपा — नरेन्द्र साह कलवार
जसपा नेपाल — जयप्रकाश राय
जनमत — सुनीलप्रसाद गुप्ता
यी बाहेक राप्रपा, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेकपा (माओवादी), उज्यालो नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन एकता पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल तथा केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् ।

उम्मेदवार परिचय
नारायणकाजी श्रेष्ठ : राष्ट्रिय राजनीतिबाट सर्लाही–३

गोरखा निर्वाचन क्षेत्र छाडेर सर्लाही–३ बाट उम्मेदवारी दिएका पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रवेशले यो क्षेत्र राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बनेको छ । उनी परराष्ट्रमन्त्री पनि भइसकेका नेता हुन् । लामो समयदेखि केन्द्रको राजनीतिमा सक्रिय श्रेष्ठलाई यहाँका मतदाताले कसरी लिनेछन् भन्ने विषयमा चासो देखिएको छ ।

हरि उप्रेती : एमालेका प्रभावशाली अनुहार
एमालेले मैदानमा उतारेका हरि उप्रेती केन्द्रमा प्रभाव राख्ने स्थानीय नेता हुन् । उनी एमाले–माओवादी गठबन्धन सरकारमा रक्षामन्त्री बनेका थिए । २०७९ सालको निर्वाचनमा उनले जित हात पारेका थिए । संगठन, सत्ता अनुभव र अघिल्लो जित उनको मुख्य आधार मानिन्छ ।

विनोदकुमार खनाल : कांग्रेसको स्थानीय भरोसा
नेपाली कांग्रेसका नेता विनोदकुमार खनाल स्थानीयस्तरमा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् । पार्टी संगठन, स्थानीय पहुँच र कांग्रेसको परम्परागत मताधारका आधारमा उनी बलियो प्रतिस्पर्धीका रूपमा हेरिएका छन् ।

नरेन्द्र साह कलवार : पार्टी परिवर्तनसहित पुनः मैदानमा
रास्वपाले पूर्व माओवादी केन्द्रका स्थानीय नेता नरेन्द्र साह कलवारलाई मैदानमा उतारेको छ । उनी २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार थिए । यसपटक पार्टी परिवर्तन गर्दै रास्वपाबाट उम्मेदवार बनेर पुनः चुनावी मैदानमा उत्रिएका छन् । बालेन प्रभावबाट उनलाई आश देखिन्छ ।

जयप्रकाश राय : जसपा नेपालको मधेस एजेन्डा
जयप्रकाश राय जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता हुन् । मधेस केन्द्रित राजनीति, समावेशीता र संघीयताको पक्षमा उनले वकालत गर्दै आएका छन् । पार्टीको क्षेत्रीय तथा संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

सुनीलप्रसाद गुप्ता : जनमतको स्थानीय सक्रियता
सुनिलप्रसाद गुप्ता जनमत पार्टीसँग सम्बद्ध राजनीतिक व्यक्तित्व हुन् । मधेस र स्थानीय मुद्दाहरूमा केन्द्रित राजनीतिमा उनको सक्रियता देखिन्छ । जनमत पार्टीको संगठन विस्तार तथा आन्दोलनात्मक कार्यक्रममा उनी सहभागी हुँदै आएका छन् ।

२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ
एमाले — हरि उप्रेती : ३२,९३८ मत (विजयी)
माओवादी केन्द्र — नरेन्द्र साह कलवार : ३२,१६८ मत
जनमत — त्रिभुवन कुमार सिंह : ५,५१९ मत
रास्वपा — पञ्चबहादुर सिङ्गतान : ३,५६६ मत
अन्य उम्मेदवारले खासै मत ल्याउन सकेनन् ।
समानुपातिकतर्फ
माओवादी केन्द्र — १५,४७१ मत
एमाले — १५,००६ मत
जसपा नेपाल — १२,०७९ मत
कांग्रेस — ९,९७९ मत
रास्वपा — ६,९६२ मत
जनमत पार्टी — ६,९३१ मत
एकीकृत समाजवादी — २,६५५ मत
राप्रपा — २,३८१ मत
अन्य दलको खासै मत आएन ।

सर्लाही–३ मा अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको मतान्तर निकै झिनो थियो । यसपटक राष्ट्रिय स्तरका नेताहरूको प्रवेश, पार्टी परिवर्तन, नयाँ मतदाता वृद्धि र मधेस केन्द्रित दलहरूको सक्रियताले चुनावी प्रतिस्पर्धा थप पेचिलो बनेको छ । त्यसैले सर्लाही–३ लाई यसपटकको निर्वाचनको निर्णायक क्षेत्रका रूपमा हेरिएको छ ।०००
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार