Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सर्लाही २ मा राजेन्द्र महतो र महिन्द्र रायबीच प्रतिस्पर्धा, रास्वपाले लेख्ला इतिहास ?

सर्लाही । सर्लाही क्षेत्र नं २ मा यसपटक कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), मधेस केन्द्रित दल र परम्परागत राजनीतिक शक्तिबीच कडा प्रतिस्पर्धा देखिएको छ । सदरमुकाम मंलगवा नगरपालिकाका केही वडा तथा ८ स्थानीय तहका वडाहरू समेटिएको यो क्षेत्र राजनीतिक रूपमा सधैं संवेदनशील मानिँदै आएको छ ।

यस निर्वाचन क्षेत्रमा हाल १,२५,३११ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा यहाँ १,१६,२२३ मतदाता थिए । यसपटक ९,०८८ मतदाता थपिनु ले चुनावी समीकरण थप रोचक बनेको छ ।

यस क्षेत्रमा १४ राजनीतिक दल र १७ स्वतन्त्र उम्मेदवार गरी ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य रूपमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, जसपा नेपाल, जनमतसँगै हालै राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोबीच प्रतिस्पर्धा केन्द्रित देखिन्छ ।

को–को उम्मेदवार प्रतिस्पर्धामा ?
• एमाले — नागेश्वर साह
• कांग्रेस — सरोज कुमार
• नेपाली कम्युनिष्ट पार्टी (नेकपा) — महिन्द्रराय यादव (तारा चिन्ह)
• रास्वपा — रविन महतो
• राप्रपा — राज किशोर राय यादव
• जसपा नेपाल — भरत चौधरी
• जनमत पार्टी — विपिन कापर
• राष्ट्रिय मुक्ति पार्टी नेपाल- राजेन्द्र महतो

यसका अतिरिक्त प्रगतिशील लोकतान्त्रिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपालका लागि नेपाली पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, आम जनता पार्टी लगायत दल तथा स्वतन्त्र उम्मेदवार पनि आ–आफ्ना प्रभाव क्षेत्र बनाउने प्रयासमा छन् ।

उम्मेदवार परिचय
नागेश्वर साह : एमालेका विश्वास
नागेश्वर साह नेकपा (एमाले) का उम्मेदवार हुन् । विकास, स्थायित्व र पार्टी संगठनलाई मुख्य एजेन्डा बनाएर उनी चुनावी मैदानमा उत्रिएका छन् । एमालेको परम्परागत मत आधार समेट्ने रणनीतिमा उनी देखिन्छन् ।

सरोज कुमार : कांग्रेस संगठनको आश 
सरोज कुमार नेपाली कांग्रेसका उम्मेदवार हुन् । लोकतान्त्रिक मूल्य, स्थानीय विकास र सामाजिक न्यायका मुद्दालाई अघि सार्दै उनी कांग्रेसको पुरानो संगठनात्मक सञ्जाललाई सक्रिय बनाउने प्रयासमा छन् ।

महिन्द्रराय यादव : मधेशी राजनीतिबाट वामधार 
महिन्द्रराय यादव नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हुन् । २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट विजयी भइसकेका यादव पहिले मधेश केन्द्रित दलमा थिए । सामाजिक न्याय, समावेशिता र मधेसका वर्गीय मुद्दालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै उनी वाम मत एकीकृत गर्ने प्रयासमा छन् ।

रविन महतो : रास्वपाका नयाँ पुस्ता
रविन महतो राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । सुशासन, पारदर्शिता र जवाफदेहितालाई मुख्य मुद्दा बनाएर उनी नयाँ पुस्ता र परम्परागत राजनीतिप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने प्रयासमा छन् ।

भरत चौधरी : जसपा नेपालको मधेस केन्द्रित एजेन्डा
भरत चौधरी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार हुन् । मधेस आन्दोलन, पहिचान, समान अधिकार र संघीयताको प्रभावकारी कार्यान्वयनका मुद्दामा उनी सक्रिय रहँदै आएका छन् ।

राजेन्द्र महतो : राष्ट्रिय मुक्ति पार्टी नेपालको यात्रा
राजेन्द्र महतो मधेश केन्द्रित दलहरुमा सक्रिय थिए । उनी अघिल्लो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता बनेका थिए । पूर्वउपप्रधानमन्त्री एवं उद्योग मन्त्री समेत भएका महताे मधेस आन्दोलन, पहिचान, संघीयता र समान अधिकारका मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएका महतो मधेस राजनीतिका प्रभावशाली पात्र मानिन्छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवार बनेका महतो २१,५१८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे । यद्यपि उनी पराजित भए पनि, सर्लाही–२ मा रहेको उनको संगठनात्मक पकड र मत आधार यसपटक पनि चुनावी गणितमा प्रभाव पार्ने महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ । 






२०७९ सालको निर्वाचन परिणाम

प्रत्यक्षतर्फ
• नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — महिन्द्रराय यादव : २३,५२९ मत (विजयी)
• लोसपा — राजेन्द्र महतो : २१,५१८ मत
• एमाले — राज नारायण साह : १४,८१९ मत
• जनमत — नरेशप्रसाद कुशवाहा : ६,५५४ मत

समानुपातिकतर्फ
• कांग्रेस — १४,९९३
• जनमत — १२,३३७
• लोसपा — ११,०४३
• माओवादी केन्द्र — १०,८५९
• जसपा नेपाल — ७,५३३
• एमाले — ५,९३४
• संघीय समाजवादी — १,९७४
• रास्वपा — १,०५७

यस निर्वाचनको नतिजाले सर्लाही–२ मात्र होइन,  मधेसमा यसपटक कांग्रेस सभापति गगन थापा आफैं सर्लाही क्षेत्र नं ४ पुगेकाले सिंगो सर्लाहीसहित मधेश नै प्रभावित बन्नसक्छ । रास्वपाले मधेशी मूलका चर्चित पात्र बालेनलाई मैदानमा उतारेकाले प्रभाव बनाउन सक्छ । 
000 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार