Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महोत्तरीका ४ मा के होला ? कसको पल्ला भारी? के भन्छन् मतदाता ?

महोत्तरी । महोत्तरी क्षेत्र नं ४ मा यसपटक पनि कडा राजनीतिक प्रतिस्पर्धा देखिएको छ । यहाँ पुराना स्थापित दल, मधेस केन्द्रित शक्ति र नयाँ वैकल्पिक राजनीतिक धार एउटै चुनावी मैदानमा आमनेसामने छन् । संगठन, अनुभव र परिवर्तनको एजेन्डा ठोक्किँदा महोत्तरी–४ चुनावी हिसाबले संवेदनशील क्षेत्र बनेको छ ।

यस क्षेत्रमा ३ नगरपालिका र २ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् । यसपटक १३ राजनीतिक दल र २३ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य रूपमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ ।

को–को उम्मेदवार प्रतिस्पर्धामा ?
• एमाले — निलम अधिकारी
• कांग्रेस — महेन्द्रकुमार राय
• नेकपा — भरतप्रसाद साह
• रास्वपा — गौरी कुमारी
• राप्रपा — सुनिलकुमार सिंह
• जसपा नेपाल — सुरेन्द्रकुमार यादव
• जनमत पार्टी — मनोजकुमार साह
यसका अतिरिक्त मंगोल नेशनल अर्गनाइजेशन, नेकपा (संयुक्त), राष्ट्रिय जनता पार्टी नेपाल, उज्यालो नेपाल, आम जनता पार्टी, जनता लोकतान्त्रिक पार्टीलगायत अन्य दल र २३ स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

उम्मेदवार परिचय
निलम अधिकारी : एमालेकी सक्रिय नेतृ

निलम अधिकारी नेकपा (एमाले) की सक्रिय नेतृ हुन् । उनी पार्टी संगठन विस्तार, महिला सशक्तीकरण र स्थानीयस्तरका सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्। जनसरोकारका विषयमा स्पष्ट धारणा राख्ने नेतृका रूपमा चिनिने अधिकारीले शिक्षा, स्वास्थ्य र विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएकी छन्।

महेन्द्रकुमार राय : कांग्रेसको अनुभवी अनुहार
महेन्द्रकुमार राय नेपाली कांग्रेसका अनुभवी नेता हुन् । लामो समयदेखि पार्टी संगठन निर्माणमा क्रियाशील रहेका उनी लोकतान्त्रिक मूल्य, समावेशिता र सामाजिक न्यायका पक्षधर मानिन्छन् । स्थानीय विकास, कृषि र रोजगारीका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका राय २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए ।

भरतप्रसाद साह : पदको लोभ कि राजनीतिक रणनीति ?
भरतप्रसाद साह नेकपाका नेता हुन् र माओवादी पृष्ठभूमिबाट आएका हुन् । दुईपटक प्रदेशसभा सदस्य रहेका साह माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता हुँदै अर्थमन्त्रीसमेत बनेका थिए । हालै संघीय निर्वाचन लड्न प्रदेशसभा सदस्यबाट राजीनामा दिएपछि उनीमाथि ‘पदको लोभ गरेको’ आरोप पनि लाग्दै आएको छ ।

गौरी कुमारी : रास्वपाको नयाँ पुस्ता
गौरी कुमारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार हुन् । नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा उनी सुशासन, पारदर्शिता र जवाफदेहितालाई मुख्य एजेन्डा बनाएर राजनीतिमा सक्रिय छिन् । पुराना राजनीतिक अभ्यासमा सुधार आवश्यक रहेको धारणा राख्दै उनले परिवर्तनको राजनीति अघि सारेकी छन्।

सुनिलकुमार सिंह : राप्रपाको राष्ट्रवादी एजेन्डा
सुनिलकुमार सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता हुन् । राष्ट्रवाद, धर्म, संस्कृति र परम्परागत मूल्यको संरक्षण उनका प्रमुख राजनीतिक एजेन्डा हुन् ।

सुरेन्द्रकुमार यादव : मधेस आन्दोलनको निरन्तरता
सुरेन्द्रकुमार यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता हुन्  । मधेस आन्दोलन, पहिचान, समान अधिकार र संघीयताको प्रभावकारी कार्यान्वयनका पक्षमा उनी लामो समयदेखि सक्रिय छन् । मधेसी समुदायका मुद्दा संसद र समाजमा उठाउँदै आएका यादव समावेशी राज्य व्यवस्थाका पक्षधर मानिन्छन् ।

मनोजकुमार साह : जनमतको वैकल्पिक राजनीति
मनोजकुमार साह जनमत पार्टीका उम्मेदवार हुन्। वैकल्पिक राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वमा विश्वास राख्ने साह परम्परागत दलप्रति बढ्दो जनआक्रोशलाई राजनीतिक परिवर्तनमा रूपान्तरण गर्ने प्रयासमा छन्। उनी युवामुखी र विकासकेन्द्रित एजेन्डालाई प्राथमिकता दिन्छन्। अन्य दल तथा स्वतन्त्र उम्मेदवार पनि स्थानीय रूपमा प्रभाव राख्ने क्षमतावान् पात्र मानिन्छन्।

मतदाता संख्या
यसपटक महोत्तरी–४ मा कुल १,०७,६०६ मतदाता छन् । २०७९ सालको निर्वाचनमा यहाँ ९८,८९६ मतदाता थिए । यसपटक ८,७१० मतदाता थपिएका छन्, जसले चुनावी गणित थप रोचक बनाएको छ।

२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ

• कांग्रेस — महेन्द्रकुमार राय : २५,४८८ मत (विजयी)
• जसपा नेपाल — सुरेन्द्रकुमार यादव : २१,३३१ मत
• जनमत — मनोजकुमार साह : १०,०५९ मत
अन्य उम्मेदवारले ५ सय मत पनि कटाउन सकेका थिएनन् ।

समानुपातिकतर्फ
• जसपा नेपाल — ११,२७९
• जनमत — १०,३४७
• कांग्रेस — ९,७११
• एमाले — ९,०९४
• माओवादी — ९,०७२
• लोसपा — ४,९०५
अन्य दलले एक हजार मत पनि कटाउन सकेनन् ।

राजनीतिक समीकरण
महोत्तरी–४ मा यसपटक पनि पुरानो अनुभव र नयाँ विकल्पबीचको प्रत्यक्ष टकराव देखिएको छ । कांग्रेसले आफ्नो अघिल्लो जित जोगाउने प्रयास गरिरहेको छ भने जसपा नेपाल र जनमत पार्टी मधेस केन्द्रित एजेन्डा र संगठनात्मक पकडका आधारमा जितको दाबी गरिरहेका छन् । नयाँ मतदाता थपिनु र स्वतन्त्र उम्मेदवारको संख्या बढ्नुले नतिजा अनुमान गर्न झन् चुनौतीपूर्ण बनाएको छ । यस निर्वाचनको परिणामले महोत्तरी–४ मात्र होइन, समग्र मधेसको राजनीतिक धार र मतदाताको प्राथमिकताबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार