Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महोत्तरी–२ मा १९ पटक मन्त्री बनेका शरतसिंह फेरि मैदानमा, युवाले दिँदैछन् चुनौती, मतदाता रुष्ट

महोत्तरी । महोत्तरी क्षेत्र नं २ मा यसपटक पनि तीव्र राजनीतिक प्रतिस्पर्धा देखिएको छ । यहाँ अनुभवी नेताहरू, वैकल्पिक तथा युवा पात्र र मधेस केन्द्रित दलहरू एउटै मैदानमा आमनेसामने छन् । सत्ता, अनुभव, संगठन र परिवर्तनको एजेन्डा ठोक्किँदा यो क्षेत्र चुनावी हिसाबले संवेदनशील बनेको छ ।

महोत्तरी–२ मा यस निर्वाचनमा १५ राजनीतिक दलबाट उम्मेदवार छन् भने २२ स्वतन्त्र उम्मेदवार गरी कुल ३७ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धी केही मुख्य उम्मेदवार ।

को–को उम्मेदवार प्रतिस्पर्धामा ?
मुख्य दलका उम्मेदवारहरू :
• जसपा नेपाल — शरतसिंह भण्डारी
• एमाले — कासिम नदाफ
• कांग्रेस — किरण यादव
• नेकपा — लक्ष्मणकुमार यादव
• रास्वपा — दिपककुमार साह
• राप्रपा — रामलखन साह कानु
• जनमत पार्टी — जयकुमार पाण्डेय
यसका अतिरिक्त मजदुर किसान पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेकपा (संयुक्त), श्रम संस्कृति, उज्यालो नेपाल, राष्ट्र निर्माण दल, जनादेश पार्टी नेपाल र २२ स्वतन्त्र उम्मेदवारहरू पनि मैदानमा छन् ।

उम्मेदवार परिचय
शरत सिंह भण्डारी : निरन्तर सत्तामा

शरत सिंह भण्डारी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का वरिष्ठ नेता हुन् । उनी पञ्चायतकालदेखि गणतन्त्रसम्म पटक–पटक मन्त्री बनेका छन् र २०७९ साल चैतमा १२औँ पटक मन्त्री बनेका थिए । पञ्चायत, राप्रपा हुँदै कांग्रेसमा रहेर उनी मधेस आन्दोलनपछि मधेश केन्द्रित दलमा सामेल भएका हुन् ।

कासिम नदाफ : एमालेको अनुभवी अनुहार
कासिम नदाफ एमालेका नेता हुन् र महोत्तरी–२ बाट प्रत्यासी बनेका छन् । उनी २०७४ को आम निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्याशी थिए । पछि एमालेमा आएका उनी अनुभवी राजनीतिक व्यक्तित्व भएका नेता मानिन्छन् ।

किरण यादव : कांग्रेसको पुरानो अनुहार
किरण यादव नेपाली कांग्रेसकी अनुभवी नेतृ हुन् । उनी पूर्व संविधानसभा सदस्य तथा प्रतिनिधि सभा सदस्य रहिसकेकी छिन् । महोत्तरी जिल्लामा कांग्रेसको पुरानो अनुहारका रूपमा मैदानमा छिन् ।

लक्ष्मणकुमार यादव : पुरानो पार्टीको युवा प्रतिनिधित्व
लक्ष्मणकुमार यादव नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हुन् । पुराना नेताका रूपमा पार्टीले उनलाई स्थानीय दलबल र अनुभवका आधारमा टिकट दिएको हो ।

दिपककुमार साह : रास्वपाको नयाँ नेतृत्व
दिपककुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुन् । उनी युवा नेताको रूपमा सक्रिय छन् र पार्टीका वैकल्पिक एजेन्डा, युवा र मधेसी मतदातालाई लक्षित गरेर प्रचार–प्रसारमा छन् । उनलाई बालेनप्रति जनलहर आउने विश्वास छ । अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि स्थानीय स्तरमा भिजेका पात्र मानिन्छन् ।

मतदाता संख्या
यसपटक महोत्तरी–२ मा कुल १,०७,५९४ मतदाता छन्। अघिल्लो २०७९ सालको निर्वाचनमा ९९,७०७ मतदाता थिए। यसपटक ७,८८७ मतदाता थपिएका छन्, जसले चुनावी गणित थप रोचक बनाएको छ ।

२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ

• लोसपा — शरत सिंह भण्डारी : २५,१९० मत (विजयी)
• तमलोपा — विजयकुमार सिंह : ११,१२० मत
• एमाले — राम परिक्षण यादव : १०,२५८ मत
• जनमत — उमेशकुमार यादव : ५,९७१ मत
अन्य उम्मेदवारले एक हजार मत पनि कटाउन सकेका थिएनन् । यस निर्वाचनमा कांग्रेसले लोसपालाई समर्थन गरेको थियो ।

समानुपातिकतर्फ
• लोसपा — १५,७२५ मत
• कांग्रेस — १०,१८९ मत
• जनमत — ७,९९८ मत
• एमाले — ५,३२४ मत
• जसपा नेपाल — ४,६१३ मत
• तमलोपा — २,८६० मत
• एकीकृत समाजवादी — २,६२३ मत
• नेपाल संघीय समाजवादी — १,५५३ मत
• माओवादी केन्द्र — १,२१८ मत
अन्य दलले एक हजार मत कटाएका थिएनन् ।

राजनीतिक समीकरण
महोत्तरी–२ यसपटक पनि पुरानो अनुभव र नयाँ नेतृत्वबीचको प्रत्यक्ष टकरावको केन्द्र बनेको छ । शरत सिंह भण्डारीले आफ्नो पुरानो अनुभव र संगठनात्मक पकडको आधारमा जित सुनिश्चित गर्ने प्रयास गरिरहेका छन् भने अन्य दलहरूले नयाँ विकल्प र युवा एजेन्डा प्रस्तुत गर्दै मतदाताको मन जित्ने रणनीति अपनाएका छन् । यस निर्वाचनको नतिजाले केवल सिटको फैसला मात्र होइन, मधेसको राजनीतिक धार र मतदाताको प्राथमिकताको संकेत दिनेछ ।
०००

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार