Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धनुषा–४ मा ह्याट्रिक गर्ने रघुवीरको दाउ, बदला लिने महेन्द्रको योजना, मतदाता भन्छन्- यसपटक नयाँ

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका केही वडा र पाँच स्थानीय तह समेटिएको धनुषा निर्वाचन क्षेत्र नम्बर ४ यसपटक पनि तीव्र प्रतिस्पर्धाको केन्द्रमा छ । यहाँ संगठन बलियो भएका पुराना दल, अनुभवी ‘हेभिवेट’ नेताहरू र नयाँ शक्तिका दाबेदारहरू एउटै मैदानमा आमनेसामने छन् ।

यस निर्वाचन क्षेत्रमा यसपटक १ लाख २७ हजार ७७८ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा यहाँ १ लाख १७ हजार १९५ मतदाता थिए। यसपटक १० हजार ५८३ मतदाता थपिएका छन्, जसले चुनावी गणितलाई थप रोचक बनाएको छ । धनुषा–४ मा यस निर्वाचनमा १३ राजनीतिक दल र २४ स्वतन्त्र गरी कुल ३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारको संख्या धेरै भए पनि वास्तविक प्रतिस्पर्धा केही प्रमुख नामहरू वरिपरि केन्द्रित देखिन्छ ।

को–को उम्मेदवार प्रतिस्पर्धामा ?
धनुषा–४ मा प्रमुख दलहरूले आफ्ना प्रभावशाली र अनुभवी उम्मेदवार मैदानमा उतारेका छन् । मुख्य उम्मेदवार :
एमाले – रघुवीर महासेठ
कांग्रेस – महेन्द्र यादव
नेकपा – सञ्जयकुमार महतो
रास्वपा – राजकिशोर महतो
राप्रपा – रामबाबु साह हलुवाइ
जसपा नेपाल – कृष्णचन्द्र प्रसाद साह
जनमत पार्टी – इन्द्रजित कुमार यादव
यसका अतिरिक्त प्रगतिशील लोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय एकता दल, नेकपा (माओवादी), राष्ट्रिय मुक्ति पार्टी नेपाल, आम जनता पार्टी तथा २४ स्वतन्त्र उम्मेदवार पनि चुनावी दौडमा छन् ।

रघुवीर महासेठ : संगठन, सत्ता र निरन्तरताको दाबी
एमालेले यसपटक पनि आफ्ना उपमहासचिव रघुवीर महासेठलाई धनुषा–४ बाट मैदानमा उतारेको छ । २०५१ सालदेखि सक्रिय राजनीतिमा रहेका महासेठ अनुभवी र प्रभावशाली नेता मानिन्छन् । उनले परराष्ट्रमन्त्री, भौतिक पूर्वाधार तथा सिँचाइमन्त्रीजस्ता जिम्मेवारी सम्हालिसकेका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन धनुषा–५ बाट पूर्वराष्ट्रपति रामवरण यादवसँग पराजित भएका महासेठ २०६५ सालमा भएको संविधानसभा उपनिर्वाचनबाट सभासद् बनेका थिए ।

२०७४ र २०७९ सालको निर्वाचनमा उनले धनुषा–४ बाट लगातार जित हात पारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने महासेठ यसपटक पनि संगठन र अघिल्ला जितको आधारमा तेस्रो पटक जित दोहोर्याउने रणनीतिमा छन् ।

महेन्द्र यादव : कांग्रेसको विरासत फर्काउने दाउ
कांग्रेसले धनुषा–४ मा पूर्व सिँचाइमन्त्री महेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । उनी कांग्रेसका पूर्व सहमहामन्त्रीसमेत हुन् । ६३ वर्षीय यादव कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलका पूर्व अध्यक्ष पनि हुन् । हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा उनी विपक्षी धारमा रहे पनि टिकट पाएपछि कांग्रेस एकताबद्ध भएर निर्वाचनमा होमिएको भन्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । २०७९ सालको निर्वाचनमा उनी रघुवीर महासेठसँग अत्यन्तै झिनो मतान्तरले पराजित भएका थिए, जसका कारण यसपटकको प्रतिस्पर्धा अझै चर्को हुने अनुमान गरिएको छ ।

संजयकुमार महतो : युवाको प्रतिनिधित्व गर्दै नेकपा
पुरानो पार्टी नेकपाले ३२ वर्षीय इन्जिनियर संजयकुमार महतोलाई उम्मेदवार बनाएको छ । स्थानीयस्तरमा भिजेका र शिक्षित युवाका रूपमा चिनिएका महतोले युवा मतदाता आकर्षित गर्ने रणनीति अपनाएका छन् ।

राजकिशोर महतो : रास्वपाको परिवर्तनको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ वर्षीय राजकिशोर महतोलाई मैदानमा उतारेको छ । स्थानीय परिवेश राम्ररी बुझेका उनी युवाको मत तान्ने दाउमा छन् । ‘बालेन लहर’ र वैकल्पिक राजनीतिको एजेन्डाको भरमा चुनावी मैदानमा उत्रिएका उनले यसपटक मधेशले नयाँ शक्तिलाई अवसर दिने विश्वास व्यक्त गर्दै आएका छन् ।

अन्य दल : निर्णायक मत काट्ने भूमिका !
जसपा नेपाल, जनमत पार्टीसहित अन्य दलका उम्मेदवार पनि जितको खोजीमा छन् । उनीहरूले प्रत्यक्ष जित निकाल्न कठिन भए पनि केही हजार मत काटिदिँदा मुख्य प्रतिस्पर्धाको समीकरण फेरिन सक्ने सम्भावना छ ।

२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ

एमाले – रघुवीर महासेठ : ३२,२३६ मत (विजयी)
कांग्रेस – महेन्द्र यादव : ३२,११२ मत
जसपा नेपाल – महाजन यादव : ५,२१२ मत
स्वतन्त्र – कृष्णकुमार महतो : ४,३४३ मत
रास्वपा – संजयकुमार यादव : १,१२१ मत
अन्य उम्मेदवारले एक हजार मतसमेत कटाउन सकेका थिएनन् । महासेठ र यादवबीचको मतान्तर अत्यन्तै न्यून रहेको थियो, जसले यो क्षेत्र कति प्रतिस्पर्धी छ भन्ने देखाउँछ ।

समानुपातिकतर्फ
एमाले – २६,९१९ मत
कांग्रेस – २५,०२८ मत
जसपा नेपाल – ६,७६७ मत
एकीकृत समाजवादी – ५,२७४ मत
जनमत – ४,०१० मत
रास्वपा – २,८२६ मत
माओवादी केन्द्र – २,२०१ मत
राप्रपा – १,९०२ मत
अन्य दलले एक हजारभन्दा कम मत प्राप्त गरेका थिए।

निरन्तरता कि उलटफेर ?
धनुषा–४ यसपटक पनि निरन्तरता र परिवर्तनबीचको प्रतिस्पर्धाको केन्द्र बनेको छ । एमाले आफ्नो स्थापित संगठन र रघुवीर महासेठको अनुभवका आधारमा जित दोहोर्याउने प्रयासमा छ भने कांग्रेस झिनो मतान्तरको हार उल्ट्याएर सिट खोस्ने रणनीतिमा छ । रास्वपा र अन्य दलहरू मुख्य दलको मत काट्दै ‘गेम चेन्जर’ बन्ने दाउमा छन् । धनुषा–४ को परिणामले केवल एक सिटको फैसला मात्र होइन, मधेशमा परम्परागत दलको पकड र नयाँ शक्तिप्रतिको भरोसाको दिशा पनि तय गर्नेछ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार