Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धनुषा–२ मा दुई पूर्वमन्त्रीसहित ३४ उमेदवार मैदानमा, आश्वासन बाँड्दा मतदाता दिक्क

धनुषा । जनकपुरधामका दुई वडा र छ स्थानीय तह समेटिएको धनुषा निर्वाचन क्षेत्र नम्बर २ मधेशको राजनीतिक नक्सामा सधैं निर्णायक मानिँदै आएको क्षेत्र हो । यहाँ जातीय पहिचान, दलगत संगठन र व्यक्तिगत प्रभावको त्रिकोणीय खेल चल्दै आएको छ । यसपटक भने मतदाता वृद्धि, दल परिवर्तन गरेका पुराना नेता र नयाँ दलको प्रवेशले धनुषा–२ को राजनीतिक तापक्रम झनै बढाएको छ ।

१ लाख ३४ हजारभन्दा बढी मतदाता : बढ्दो राजनीतिक चासो
धनुषा–२ मा यसपटक कुल मतदाता संख्या १,३४,८३६ पुगेको छ । २०७९ सालको निर्वाचनमा यहाँ १,२४,७५५  मतदाता थिए । १०,०८१ मतदाता थपिनुले यो क्षेत्रको राजनीतिक सक्रियता र जनसंख्या विस्तार दुवैलाई देखाउँछ । युवा मतदाता, वैदेशिक रोजगारीबाट फर्किएका परिवार र स्थानीय तहको राजनीतिबाट असन्तुष्ट समूह यसपटक निर्णायक बन्न सक्ने अनुमान छ ।

३४ उम्मेदवार, तर मुख्य प्रतिस्पर्धा सीमित
यस क्षेत्रमा १० राजनीतिक दल र २४ स्वतन्त्र गरी कुल ३४ उम्मेदवार चुनावी मैदानमा छन् ।
तर वास्तविक प्रतिस्पर्धा भने ५–६ जना मुख्य उम्मेदवारमै केन्द्रित देखिन्छ ।

मुख्य उम्मेदवारहरू—
एमाले – उमाशंकर अरगरिया
कांग्रेस – दिनेश प्रसाद यादव परसैला
नेकपा – रामचन्द्र झा
रास्वपा – राम विनोद यादव
राप्रपा – महेश्वर मण्डल
जसपा नेपाल – पशुपति यादव
जनमत पार्टी – सुरेन्द्रप्रसाद यादव
यसका अतिरिक्त नेपालका लागि नेपाली पार्टी, नेकपा (माओवादी), राष्ट्रिय मुक्ति पार्टी नेपाल तथा अन्य स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् ।
उमाशंकर अरगरिया : दल परिवर्तनको राजनीतिक गणित
एमालेका उम्मेदवार उमाशंकर अरगरिया पूर्वमन्त्री तथा यो क्षेत्रका ‘हेभिवेट’ नेता हुन् ।
उनको राजनीतिक यात्राले धनुषा–२ को अस्थिर दलगत संरचना प्रस्ट देखाउँछ ।
२०७४ मा तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट धनुषा–२ जित
पछि राजपासँग एकता भई बनेको जसपा नेपाल
पार्टी विभाजनपछि लोसपा रोजे, जहाँ उनी सचेतक बने
हाल एमाले प्रवेश गर्दै पुनः उम्मेदवार
उनको पूर्व दल लोसपा र जसपा नेपालबीच पुनः एकीकरण भइसकेकाले, पुरानो मत आधार कति एमालेतर्फ सर्छ भन्ने प्रश्न मुख्य बनेको छ ।

दिनेश प्रसाद यादव परसैला : कांग्रेसको भरोसायोग्य अनुहार
कांग्रेसका उम्मेदवार दिनेश प्रसाद यादव परसैला अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । ५७ वर्षीय परसैला यसअघि तत्कालीन धनुषा निर्वाचन क्षेत्र–१ बाट कांग्रेसकै टिकटमा दोस्रो संविधानसभा सदस्य निर्वाचित भइसकेका छन् । उनी कांग्रेसको विशेष महाधिवेशन पक्षधर हुन् ।२०७९ मा कांग्रेसले यही क्षेत्रमा जित निकालेको इतिहास भएकाले, परसैलाका लागि यो चुनाव ‘जितको निरन्तरता’ जोगाउने  चुनौती हो ।

रामचन्द्र झा : मधेशका पुराना कम्युनिष्ट अनुहार
नेकपाका उम्मेदवार रामचन्द्र झा मधेशका पुराना कम्युनिष्ट नेतामध्ये पर्छन् ।
२०४८, २०५१ र २०५६ मा एमालेबाट उम्मेदवार
२०५१ मा सांसद निर्वाचित
एमाले → माओवादी → एकीकृत समाजवादी
माओवादी र एकीकृत समाजवादी एकता पछि हाल नेकपाका केन्द्रीय नेता
उनको राजनीतिक इतिहास लामो भए पनि, बारम्बारको दल परिवर्तनले मतदाताको भरोसा कति टिकेको छ भन्ने प्रश्न कायम छ ।

रास्वपा र नयाँ पुस्ता : राम विनोद यादवको चुनौती
रास्वपाका उम्मेदवार राम विनोद यादव स्थानीय रूपमा भिजेको अनुहार हुन् । नयाँ पुस्ताको मत तान्ने रणनीतिसहित मैदानमा उत्रिएका यादवलाई बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको घोषणाले केही राजनीतिक ‘स्पेस’ दिएको छ । मधेशमा परम्परागत दलप्रति बढ्दो वितृष्णा र युवा मतदाताको सक्रियताले रास्वपाको मत आधार बढ्न सक्ने संकेत देखिएको छ ।

२०७९ को नतिजा
प्रत्यक्षतर्फ

कांग्रेस – रामकृष्ण यादव : २०,११२ (विजयी)
एमाले – उमाशंकर अरगरिया : १९,९५५
एकीकृत समाजवादी – रामचन्द्र झा : १३,६०५
जसपा नेपाल – आनन्द यादव : १२,९०१
जनमत – जय नारायण साह : ९,९९२
अन्य दल : ५ सय मत पनि कटाउन सकेनन्
कांग्रेस र एमालेबीचको मतान्तर १५७ मत मात्र थियो—धनुषा–२ कति ‘क्लोज फाइट’ हो भन्ने यसले देखाउँछ ।

समानुपातिकतर्फ
एमाले – १७,४६३
कांग्रेस – १५,४०३
जसपा नेपाल – १३,५१३
जनमत – १२,९९२
एकीकृत समाजवादी – ८,०८२
माओवादी केन्द्र – ५,७५९
लोसपा – १,७८७

अन्य दल : १ हजार मत पनि कटाउन सकेनन्
धनुषा–२ मा यसपटक पनि कांग्रेस र एमालेबीचको सीधा प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । तर जसपा, जनमत, रास्वपा र नेकपाको मत कटानले समीकरण सजिलै उल्टिन सक्छ । कांग्रेसले २०७९ को जित जोगाउन संगठन मजबुत राख्नुपर्नेछ ।  एमालेका लागि अरगरियाको व्यक्तिगत प्रभाव निर्णायक हुनेछ । रास्वपा र जनमतले युवाको मत ताने भने नतिजा अप्रत्याशित हुन सक्छ ।  धनुषा–२ यो चुनावमा केवल एक सिटको लडाइँ होइन— मधेशको बदलिँदो राजनीतिक मनोविज्ञानको परीक्षा हो । पुराना अनुहारहरू फेरि जित्छन् कि मतदाताले नयाँ विकल्प रोज्छन्, यसको फैसला मतदान दिन हुनेछ ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार