NL न्यूज
धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाम अटाएको जिल्ला धनुषा आफैंमा राजनीतिक रूपमा संवेदनशील र प्रतिकात्मक जिल्ला हो । जानकी मन्दिरका कारण धार्मिक–सांस्कृतिक पहिचान बोकेको यो जिल्ला सधैं राष्ट्रिय राजनीतिका ‘फोकस एरिया’ मध्ये पर्छ । चारवटा निर्वाचन क्षेत्र रहेको धनुषामध्ये क्षेत्र नम्बर १ यसपटक फेरि पुराना अनुहार, दल परिवर्तन गरेका नेताहरू र नयाँ राजनीतिक प्रयोगको संगम बनेको छ । जनकपुरबाटै चुनावी यात्रा सुरु गरेका पुराना र नयाँ दलका लागि धनुषा–१ प्रतिष्ठा र सम्भावनाको दुवै मैदान हो ।
१ लाख २६ हजार मतदाता : बढ्दो सहभागिता
यस क्षेत्रका कुल मतदाता संख्या १,२६,०४० पुगेको छ । २०७९ सालमा यहाँ १,१८,६२८ मतदाता थिए । ७,४१२ मतदाता थपिनुले यो क्षेत्र राजनीतिक रूपमा अझ सक्रिय बन्दै गएको संकेत गर्छ । युवा, वैदेशिक रोजगारीबाट फर्किएका मतदाता र दलप्रति असन्तुष्ट मतदाताको संख्या निर्णायक बन्ने देखिन्छ ।
४२ उम्मेदवार
धनुषा–१ मा १३ राजनीतिक दल र २९ स्वतन्त्र गरी ४२ उम्मेदवार मैदानमा छन् । तर वास्तविक प्रतिस्पर्धा भने ५–७ जनामै केन्द्रित देखिन्छ ।
मुख्य उम्मेदवारहरू यस्ता छन्—
एमाले – रामचन्द्र मण्डल
कांग्रेस – राम पलटन साह
नेकपा – मातृकाप्रसाद यादव
रास्वपा – किशोरी साह कमल
राप्रपा – मनोज मल्ल ठकुरी
जसपा नेपाल – दीपक कार्की
जनमत पार्टी – ब्रह्मदेव महतो
यसका अतिरिक्त मंगोल नेशनल अर्गनाइजेशन, नेकपा (माओवादी), उज्यालो नेपाल, ऐतिहासिक जनता पार्टी, नेपाल संघीय समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले पनि उम्मेदवार उतारेका छन् ।
एमालेको दाउ : सभामुखबाट संघीय संसदसम्म
एमालेले केन्द्रीय सदस्य रामचन्द्र मण्डललाई मैदानमा उतारेको छ । उनी मधेश प्रदेशसभाको सभामुख भइसकेका अनुभवी नेता हुन् । एमालेका लागि धनुषा–१ संगठनात्मक रूपमा सजिलो क्षेत्र होइन, तर समानुपातिक मतको आधार हेर्दा पार्टीको स्थिर आधार देखिन्छ । मण्डलको अनुभव र संगठन परिचालन एमालेको मुख्य बल हो ।
कांग्रेसका उम्मेदवार : ‘विशेष महाधिवेशन’को राजनीति
कांग्रेसका उम्मेदवार राम पलटन साह पार्टीभित्र ‘विशेष महाधिवेशन’ पक्षधर नेताका रूपमा चिनिन्छन् । विशेष महाधिवेशनपछि उनी केन्द्रीय सदस्य बने । निवर्तमान सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निम्ता दिन जाँदा देउवा सचिवालयबाट अपमानित भएर फर्काइएको चर्चाले उनलाई पार्टीभित्र विद्रोही स्वरको प्रतीक बनाएको थियो । धनुषा–१ मा कांग्रेसको मत स्थिर छ, तर संगठन एकढिक्का बन्न सकेन भने चुनौती बढ्न सक्छ ।
मातृकाप्रसाद यादव : पुरानो माओवादी प्रभाव
नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव पूर्वमन्त्री तथा माओवादी पृष्ठभूमिका पुराना नेता हुन् । २०७९ मा माओवादी केन्द्रबाट दोस्रो स्थान हासिल गरेका यादव अहिले नेकपाको केन्द्रीय तहमा छन् । उनको मत आधार वैचारिकभन्दा पनि ‘पुरानो पहिचान र संगठन’मा आधारित देखिन्छ ।
किशोरी साह कमल : दल परिवर्तनको प्रयोग
रास्वपाका उम्मेदवार किशोरी साह कमल यो निर्वाचनको सबैभन्दा चासोको पात्रमध्ये एक हुन् । २०७४ मा एमालेबाट प्रदेश सांसद बनेका उनी २०७९ मा जनमत पार्टी पुगे । अहिले फेरि रास्वपा प्रवेश गरेर उम्मेदवारी दिएका छन् । उनले अघिल्लो निर्वाचनमा पाएको १४ हजारभन्दा बढी मत यदि रास्वपाको ‘घण्टी प्रभाव’ सँग जोडिन सक्यो भने खेल पल्टिन सक्छ । तर बारम्बार दल परिवर्तनले मतदातामा अविश्वास पनि जन्माएको छ ।
दीपक कार्की : जितको निरन्तरताको चुनौती
जसपा नेपालबाट उम्मेदवारी दिएका दीपक कार्की पूर्ववन राज्यमन्त्री तथा २०७९ का निर्वाचित सांसद हुन् । २०७९ मा २७,४३१ मत ल्याउँदै पहिलो भएका कार्कीका लागि यो निर्वाचन ‘पुनः पुष्टि’ को लडाइँ हो । तर यसपटक प्रतिस्पर्धी संख्या बढेको छ, र मत विभाजनको जोखिम पनि उत्तिकै छ ।
२०७९ को परिणाम
प्रत्यक्षतर्फ
जसपा नेपाल – दीपक कार्की : २७,४३१ मत
माओवादी केन्द्र – मातृकाप्रसाद यादव : २१,४८३ मत
जनमत – किशोरी साह कमल : १४,४६७ मत
राप्रपा – मनोज मल्ल ठकुरी : ८,२७३ मत
रास्वपासहित अन्य दल ५ सय मत पनि कटाउन सकेनन् ।
समानुपातिकतर्फ
एमाले – १४,६११ मत
कांग्रेस – १३,५८१ मत
जनमत – १३,०९८ मत
जसपा नेपाल – ९,३२० मत
माओवादी केन्द्र – ७,८७८ मत
राप्रपा – ७,४३२ मत
लोसपा – २,४६४ मत
रास्वपा – १,५२९ मत
यो अंकगणितले के देखाउँछ भने धनुषा–१ मा कुनै पनि दलको एकल प्रभुत्व छैन । प्रत्यक्ष र समानुपातिक मतबीच ठूलो अन्तर देखिनु नै मतदाताको ‘फ्लोटिङ नेचर’ को प्रमाण हो ।
त्रिपक्षीय कि बहुपक्षीय भिडन्त ?
धनुषा–१ मा यदि जसपा, नेकपा र जनमतबीचको पुरानो मत संरचना जस्ताको तस्तै रह्यो भने दीपक कार्की फेरि बलियो देखिन्छन् । तर, रास्वपा प्रभावकारी रूपमा उठ्यो भने किशोरी साह कमल ‘डार्क होर्स’ बन्न सक्छन् । एमाले र कांग्रेसले संगठन मजबुत बनाए भने खेल अन्तिम हप्तामा पल्टिन सक्छ । धनुषा–१ यो पटक केवल चुनाव होइन, पुराना मधेशी दलको पकड जोगिन्छ कि नयाँ राजनीतिक प्रयोगले प्रवेश पाउँछ, त्यसको परीक्षण हो । जनकपुरको यो मैदानले मधेश राजनीतिमा अर्को अध्याय लेख्नेछ ।





प्रतिक्रिया दिनुहोस्