Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो र अनिवार्य सर्त भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक पदाधिकारीको कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन आए मात्र प्रशासनिक क्षेत्र पनि सही दिशामा अघि बढ्ने बताए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण जनताको साझा चाहना भएको उल्लेख गर्दै हालै युवा पुस्ताले व्यक्त गरेको असन्तुष्टि र अपेक्षालाई गम्भीर रूपमा लिनुपर्ने बताए । उनले सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनताको घर–घरमा पुर्‍याउन नसकिने स्पष्ट पारे ।

“संवृद्धि हासिल गर्ने अनिवार्य सर्त नै भ्रष्टाचार नियन्त्रण हो,” उनले भने, “सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनै पर्छ । जब सार्वजनिक शक्ति व्यक्तिको स्वार्थमा प्रयोग गरिन्छ, त्यसले राज्यप्रति जनताको भरोसामा गम्भीर आघात पुर्‍याउँछ ।”

अख्तियारको दुरुपयोग सामान्य प्रशासनिक त्रुटि नभई सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभएको बताए । उनले संयुक्त राजनीतिक, प्रशासनिक र सामाजिक प्रतिबद्धताबाट मात्र भ्रष्टाचारविरुद्ध प्रभावकारी लडाइँ सम्भव हुने धारणा व्यक्त गरे ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार