Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धनुषा–३ मा विमलेन्द्रलाई छैन सहज, मनिषलाई 'बालेन लहर'को भर, जुलीको विश्वास संगठनमा

धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश वडा र थप पाँच स्थानीय तह समेटिएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ यसपटक चुनावको सबैभन्दा चासोको केन्द्र बनेको छ । यहाँ राष्ट्रिय राजनीति हल्लाउने नामहरू, पार्टी नेतृत्वको प्रतिष्ठा, र नयाँ पुस्ताको चुनौती एकै ठाउँमा ठोक्किएका छन् । एमाले, कांग्रेस र रास्वपाबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई साँच्चिकै ‘हेभिवेट रणभूमि’ बनाएको छ । यसपटक १,२५,९२७ मतदता रहेका छन् । २०७९ सालमा धनुषा क्षेत्र नं ३ मा १,१४,००९ मतदाता थिए । यसपटक ११,९१८ मतदाता थपिएका छन् ।

मुख्य उम्मेदवार :
धनुषा–३ मा दर्जनौं उम्मेदवार भए पनि राजनीतिक बहस मुख्यतः केही नाम वरिपरि घुमिरहेको छ—
एमाले – जुलीकुमारी महतो
कांग्रेस – विमलेन्द्र निधि
नेकपा – रामललित मण्डल
रास्वपा – मनिष झा
राप्रपा – हुसैन कवारी
जसपा नेपाल – परमेश्वर साह सुडी
जनमत पार्टी – गोपालप्रसाद साह
यसका अतिरिक्त नेपाल मजदुर किसान पार्टी, नेपाल जनता पार्टी, नेपालका लागि नेपाली पार्टी, श्रम संस्कृति पार्टी, नेकपा (माओवादी), उज्यालो नेपाल पार्टी, राष्ट्रिय मुक्ति नेपाल पार्टी, राष्ट्र निर्माण दल नेपाल, आम जनता पार्टी र २९ स्वतन्त्र उम्मेदवार समेत चुनावी मैदानमा छन् ।संख्या धेरै भए पनि वास्तविक खेल भने ३–४ जनामै सीमित देखिन्छ ।

जुलीकुमारी महतो : एमालेको भरोसा र निरन्तरता
एमालेले यसपटक आफ्नो केन्द्रीय सदस्य जुलीकुमारी महतोलाई पुनः मैदानमा उतारेको छ ।
उपमहासचिव रघुवीर महासेठकी पत्नीसमेत रहेकी महतो एमालेका लागि संगठनात्मक र राजनीतिक दुवै हिसाबले महत्वपूर्ण अनुहार हुन् ।
उनी पहिलो संविधानसभामा समानुपातिक सभासद् भएकी थिइन । र, दोस्रो संविधानसभामा विमलेन्द्र निधिसँग पराजित भइन । २०७९ मा धनुषा–३ बाट प्रत्यक्ष निर्वाचित भएकी उनी पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत बनेकी थिइन । २०७९ को स्पष्ट जितका कारण एमाले यो क्षेत्रलाई आफ्नो ‘किल्ला’ जोगाउने अभियानमा छ ।

विमलेन्द्र निधि : विरासत, अनुभव र पुनरागमन
कांग्रेसका उम्मेदवार विमलेन्द्र निधि धनुषा–३ का मात्र होइन, राष्ट्रिय राजनीतिका प्रभावशाली नेता मानिन्छन् । कांग्रेसका संस्थापक नेता महेन्द्र नारायण निधिका छोरा विमलेन्द्र निधिले राजनीतिक विरासतसँगै लामो अनुभव बोकेका छन् । उनी दुवै संविधानसभामा सभासद् भएका थिए । त्यसपछि २०७४ मा राजेन्द्र महतोसँग पराजितसँग पराजित भएका निधि २०७९ मा समानुपातिक सांसद भए । गृहमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीसमेत भएका उनी कांग्रेसको उपसभापति सम्मको जिम्मेवारीमा बसे । विशेष महाधिवेशनको विपक्षमा उभिएका निधिका लागि यो चुनाव प्रत्यक्ष राजनीतिमा पुनरागमनको लडाइँ हो ।

मनिष झा : नयाँ पुस्ताको आवाज
रास्वपाका प्रवक्ता मनिष झा यस निर्वाचनका सबैभन्दा रोचक पात्रमध्ये एक हुन् । कांग्रेसबाट राजनीति सुरु गरेका उनले अहिले रास्वपाको केन्द्रीय प्रवक्ताको भूमिका सम्हालिरहेका छन् । युवा पुस्तामा उनको राम्रो स्वीकार्यता छ । उनले १० वर्षसम्म मात्र सक्रिय राजनीति गर्ने घोषणा गरिसकेकाले उनी ‘पदका लागि राजनीति’ होइन भन्ने सन्देश दिन खोजिरहेका छन् । यदि शहरी जनकपुरधाममा परिवर्तनको चाहना बलियो बन्यो भने मनिष झा निर्णायक बन्न सक्छन् ।

अन्य दल : स्थानीय प्रभाव कम आँक्न नमिल्ने
नेकपाका रामललित मण्डल, जसपा नेपालका परमेश्वर साह सुडी, जनमतका गोपालप्रसाद साह र राप्रपाका हुसैन कवारीजस्ता उम्मेदवार स्थानीय तहमा भिजेका र आफ्ना आधार बोकेका पात्र हुन् । उनीहरूले जित निकाल्न गाह्रो देखिए पनि २–५ हजार मत काटिदिँदा मुख्य प्रतिस्पर्धाको समीकरण बिग्रन सक्छ ।

२०७९ को नतिजा
प्रत्यक्षतर्फ
एमाले – जुलीकुमारी महतो : ३३,३८८ मत (विजयी)
लोसपा – अनिलकुमार झा : २३,६८६ मत
जनमत – शम्भुनाथ साह : ७,३७४ मत
अन्य उम्मेदवार : १ हजार मत पनि कटाउन सकेनन् । जुलीकुमारी महतोले करिब १० हजार मतान्तरले जित हात पारेकी थिइन् ।

समानुपातिकतर्फ
कांग्रेस – २५,१९५ मत
एमाले – १७,८७४ मत
जनमत – ८,०८२ मत s
जसपा नेपाल – ५,३१७ मत
लोसपा – ४,५२० मत
संघीय समाजवादी – १,४८६ मत
राप्रपा – १,३३१ मत
रास्वपा – १,२१९ मत
तमलोपा – १,२११ मत
अन्य दलले १ हजार मत पनि कटाउन सकेनन् ।  समानुपातिकमा कांग्रेस अगाडि देखिए पनि प्रत्यक्षतर्फ एमालेको संगठन बलियो देखिएको थियो ।

प्रतिष्ठा भर्सेस परिवर्तन
धनुषा–३ यसपटक केवल चुनावी क्षेत्र होइन— यो एमालेको संगठनात्मक पकड, कांग्रेसको विरासत राजनीति, र रास्वपाको परिवर्तन एजेन्डाबीचको प्रत्यक्ष टकराव हो । यसपटक एमालेले २०७९ को जित दोहोर्याउन खोज्दैछ भने कांग्रेसका विमलेन्द्र निधिको पुनरागमनमार्फत सिट फिर्ता लिन चाहन्छ । रास्वपा शहरी र युवा मतको सहारामा ‘गेम चेन्जर’ बन्ने दाउमा छ । धनुषा–३ को परिणामले जनकपुरको राजनीतिक दिशा मात्र होइन, मधेशको नेतृत्व संरचनामा पनि सन्देश दिनेछ । यो चुनाव जित–हारभन्दा बढी प्रतिष्ठा, विरासत र पुस्तान्तरणको परीक्षा हो ।


 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार