Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेकपाको चुनावी प्रतिबद्धतापत्र

नेकपाको नजरमा रास्वपा ‘विध्वंशकारी’, आफूलाई ‘क्रान्तिकारी शक्ति’ भएको दावी

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गरेको छ । पार्टीले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ का रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘भदौ २४ का विध्वंशकारी तत्वसँग जोडिएको’ भन्दै कडा आरोप लगाएको छ ।

घोषणापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार भागमा वर्गीकरण गरिएको छ । नेकपाले आफूलाई क्रान्तिकारी शक्तिको रूपमा उभ्याउँदै समाज रूपान्तरणका लागि स्पष्ट समाजवादी कार्यदिशा भएको दाबी गरेको छ ।

पार्टीका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसलाई ‘यथास्थितिवादी शक्ति’ को संज्ञा दिइएको छ । घोषणापत्रमा ती दलहरूसँग मुलुकलाई नयाँ दिशामा अघि बढाउने कुनै नवीन राजनीतिक–आर्थिक अवधारणा नभएको टिप्पणी गरिएको छ ।

विशेष गरी नयाँ उदाउँदै आएका शक्तिहरूमाथि नेकपाले तीखो प्रहार गरेको छ । घोषणापत्रमा भनिएको छ, “आफूलाई नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहीन र दृष्टिकोणविहीन छन् । यी भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएका शक्ति हुन् ।” यस्ता शक्तिहरूले मुलुकका संरचनागत समस्या समाधान गर्न नसक्ने र उनीहरू देश तथा जनताको हितमा नरहेको दाबी पनि घोषणापत्रमा गरिएको छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिको रूपमा चित्रित गरिएको छ । जनक्रान्तिबाट उखेलेर फ्याँकिएको सामन्ती राजतन्त्र पुनःस्थापना गर्न खोज्ने प्रवृत्तिले देशलाई पछाडि धकेल्ने प्रयास भइरहेको आरोप नेकपाले लगाएको छ ।

घोषणापत्रमा विगतका जनआन्दोलन र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी गर्दै लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वजस्ता उपलब्धिहरू आफ्नै पहलका कारण सम्भव भएको उल्लेख गरिएको छ । “हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौँ,” भन्ने नारासहित नेकपाले अरू दल गफमा सीमित रहने तर आफूले व्यवहारमै परिवर्तन गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेकपाको नजरमा कुन दल कस्ता ?
वर्ग दल/शक्ति नेकपाको मूल्यांकन
क्रान्तिकारी नेकपा एकमात्र समाजवादी रूपान्तरण गर्ने शक्ति
यथास्थितिवादी नेपाली कांग्रेस र नेकपा एमाले नयाँ दृष्टिकोणविहीन, पुरानै संरचना जोगाउने
पपुलिष्ट रास्वपा लगायत नयाँ शक्ति सिद्धान्तहीन, भदौ २४ का विध्वंशकारीसँग जोडिएको
प्रतिगामी पुनरुत्थानवादी राप्रपा राजतन्त्र फर्काउने प्रयास, देश पछाडि धकेल्ने

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार