Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा सदस्य निर्वाचन

काठमाडौं ५ मा दोहोरिने प्रदीपको आश, रोकेरै छाड्ने ईश्वरको प्रयास, कमलको फक्रिने प्रयास

काठमाडौँ । काठमाडौँ–५ फेरि ‘हेभिवेट’ रणभूमि बनेको छ । नाम हेर्दा नै थाहा हुन्छ—यो साधारण निर्वाचन होइन । एकातिर एमालेका ईश्वर पोखरेल, अर्कोतिर कांग्रेसका प्रदीप पौडेल, बीचमा ‘कमब्याक’ खोज्दै कमल थापा, र साइडबाट घण्टी बजाउँदै रास्वपाका सस्मित पोखरेल। त्यसमाथि नेकपाकी कल्पना शर्मा, उज्यालो नेपालका श्रीराम गुरुङ, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी—कुल २६ उम्मेदवार । तर असली खेल भने ४–५ जनाबीच सीमित देखिन्छ ।

पुरानो बदला : पोखरेल भर्सेस पौडेल
२०७४ मा यही क्षेत्रबाट एमालेका पोखरेलले २३,०२९ मत ल्याउँदै कांग्रेसका प्रकाशशरण महतलाई १० हजार मतान्तरले हराएका थिए। तर २०७९ मा समीकरण उल्टियो । कांग्रेसका प्रदीप पौडेलले १५,२६९ मत ल्याएर पोखरेललाई पराजित गरे ।

यो पटक फेरि उही भिडन्त । तर परिस्थिति फेरिएको छ पोखरेल एमालेको ११औँ महाधिवेशनपछि कार्यकारी शक्तिबाट बाहिर छन् । पौडेल भने कांग्रेस महामन्त्री बनेर संगठनभित्र बलियो हैसियतमा छन् । पोखरेलका लागि यो प्रतिष्ठाको लडाइँ हो—२०७९ को हार उल्ट्याउने । पौडेलका लागि विरासत जोगाउने—‘एकपटक जितेपछि जनताले फेरि भरोसा गर्छन्’ भन्ने सन्देश दिने ।

कमल थापा : धर्म–राष्ट्रवादको कार्ड
मकवानपुर छाडेर काठमाडौँ–५ रोज्नु आफैंमा सन्देश हो । २०७९ मा मकवानपुर–१ मा एमालेको सूर्य चिह्न लिएर उठेका थापा पराजित भएका थिए । अब राप्रपामै फर्किएर शहरी राष्ट्रवादी मत तान्ने दाउमा छन् । २०७९ मा यहाँ राप्रपाले ३,१६२ मत पाएको थियो । समानुपातिकमा पनि राप्रपाको राम्रो आधार छ । तर प्रश्न एउटै छ— यो क्षेत्र धर्म–राष्ट्रवादभन्दा ‘सेवा–विकास’मा बढी केन्द्रित मध्यमवर्गीय मतदाता भएको ठाउँ हो । थापाको एजेन्डाले कति असर पार्छ ?

रास्वपाका सस्मित : घण्टीको कम्पन
२०७९ मा रास्वपाका प्रणय राणाले ५,४७७ मत ल्याएर तेस्रो स्थान कब्जा गरेका थिए । यस पटक उम्मेदवार सस्मित पोखरेल छन् । उनी बालेन शाहको कोर टिममा रहेर काम गरेका, शिक्षा नीतिमा सक्रिय, शहरी युवामाझ पहिचान बनाएका अनुहार हुन् ।
यदि २०७९ को ५ हजार मत सुरक्षित रह्यो र पुराना दलप्रति वितृष्णा थपियो भने सस्मित ‘डार्क होर्स’ बन्न सक्छन् ।

नेकपा, उज्यालो, नयाँ अनुहार
कल्पना शर्मा—भ्रष्टाचार विरोधी र महिला अधिकारको एजेन्डासहित ।
श्रीराम गुरुङ—पर्यटनलाई आर्थिक रूपान्तरणको आधार बनाउने भिजनसहित ।
निशा अधिकारी—युवा रोजगारी, मानसिक स्वास्थ्य, उद्यमशीलता एजेन्डा लिएर पहिलो पटक मैदानमा ।
यी उम्मेदवारले जित निकाल्ने सम्भावना कम आँकिए पनि, २–४ हजार मत ‘काटिँदा’ समीकरण उल्टिन सक्छ ।

स्थानीय तहको अंकगणित के भन्छ?
काठमाडौँ महानगरका २–५ वडा, बुढानीलकण्ठ ३–७, टोखा २–७ हुन् । यी वडाको २०७९ स्थानीय तहको परिणाम हेर्दा एमालेको वडा संगठन बलियो देखिन्छ, विशेषगरी टोखा र बुढानीलकण्ठ क्षेत्रमा । तर महानगर क्षेत्रमा बालेन शाहको प्रभाव अझै जीवित छ । त्यो ‘मूड’ यदि संघीय चुनावमा पनि ट्रान्सफर भयो भने रास्वपाले अप्रत्याशित उछाल लिन सक्छ ।

७८ हजार मतदाता : को निर्णायक?
यो क्षेत्रमा ७८,११४ मतदाता छन् । ३१ मतदानस्थल, ९० मतदान केन्द्र छ ।  २०७९ मा कांग्रेस–एमालेबीचको मतान्तर झन्डै ५ हजार थियो । तर रास्वपा, राप्रपा, स्वतन्त्रको संयुक्त मत जोड्दा त्यो अन्तर सजिलै मेटिन्छ ।

यहाँको निर्णायक वर्ग भनेको घरजग्गा र कर नीतिबाट प्रभावित मध्यमवर्ग हुन् । वैदेशिक रोजगारी र शिक्षाबाट प्रभावित युवा हुन् । स्थायित्व चाहने पुरानो पुस्ताको मत निर्णायक हुनेछ ।

यहाँ दुईध्रुवीय प्रतिस्पर्धा दोहोरियो भने कांग्रेसलाई लाभ मिल्नेछ । एमालेले संगठन पूर्ण रूपमा सक्रिय गर्‍यो भने कडा टक्कर हुनेछ । त्रिपक्षीय मत विभाजन भयो भने फरक नतिजा आउनेछ । कमल थापाले राष्ट्रवादी मत केन्द्रित गरे भने समीकरण बिग्रन सक्छ।

काठमाडौँ–५ अहिले केवल निर्वाचन क्षेत्र होइन यो पुस्तान्तरणको जनमत संग्रह हो। एकातिर अनुभवी र ‘स्थापित’ अनुहारहरू, अर्कोतिर परिवर्तनको प्रतीक खोजिरहेको शहरी मतदाता। २१ फागुनले तय गर्नेछ पुरानो किल्ला पुनः उठ्छ कि नयाँ राजनीतिक अध्याय सुरु हुन्छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार