Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा सदस्य निर्वाचन

गगन सर्लाही झर्दा काठमाडौं ४ मा एमाले उत्साही, सचिनलाई विरासतको चिन्ता, पुकार पनि मैदानमा

काठमाडौं । काठमाडौँ–४ फेरि एक पटक राष्ट्रिय बहसको केन्द्रमा उभिएको छ । तर यस पटक कथा अलि फरक छ । तीन पटक लगातार जित निकाल्ने गगन थापा मैदानमा छैनन् । उनी सर्लाही–४ पुगेपछि यहाँ ‘गगनपछिको काठमाडौँ–४’ कसको हुन्छ भन्ने जिज्ञासा सबैभन्दा ठूलो प्रश्न बनेको छ ।

गगनको विरासत, तर उम्मेदवार सचिन
२०७० मा एमालेका निर्मल कुइँकेल र माओवादीका नन्दकिशोर पुनलाई हराउँदै उदाएका गगन थापाले २०७४ र २०७९ मा पनि राजन भट्टराईलाई पराजित गरे । २०७४ मा २१,५५८ मत ल्याउँदा भट्टराई १८,१४० मा सीमित भए । २०७९ मा त अन्तर झन् फराकिलो भयो—गगन २१,३०२, भट्टराई १३,८५५ मत पाए ।

तर ती सबै जितमा गगनको व्यक्तिगत छवि, गठबन्धनको साथ र संगठनको तालमेल थियो । अहिले कांग्रेसले युवा नेता सचिन तिमल्सिनालाई अगाडि सारेको छ । युथ कांग्रेसका संस्थापक तिमल्सिना देशका ४० भन्दा बढी जिल्लामा सक्रिय भए पनि काठमाडौं–४ का मतदाताका लागि भने नयाँ अनुहार हुन् ।

ज्ञानेश्वर र महानगरभित्र कांग्रेसको प्रभाव रहे पनि कपन, बूढानीलकण्ठका बाहिरी बसाइँसराइ मतदाता माझ सचिनलाई चिनाउने ठूलो गृहकार्य बाँकी देखिन्छ । गगनको छायाँबाट बाहिर निस्केर आफ्नै पहिचान बनाउनु नै उनको मुख्य चुनौती हो ।

राजन भट्टराई : अवसर र आन्तरिक गाँठो
एमाले सचिव डा. राजन भट्टराईका लागि यो ‘डू अर डाइ’ चुनाव जस्तै देखिन्छ । लगातार दुई पटक गगनसँग पराजित भएका उनी यस पटक गगनको अनुपस्थितिलाई अवसर मानिरहेका छन् । संगठन एमालेको बलियो पक्ष हो—विशेष गरी बूढानीलकण्ठ–१० (कपन) र १३ नम्बर वडामा । तर एमालेभित्रको भावनात्मक एकता कमजोर भएको गुनासो कार्यकर्तामै छ । अघिल्लो चुनावपछि क्षेत्रमै सक्रिय नदेखिएको आरोपले केही मतदाता रुष्ट छन् । यदि त्यो असन्तोष मेट्न सकेनन् भने, संगठन बलियो हुँदाहुँदै पनि मत ‘स्लिप’ हुन सक्छ ।

पुकार बम : नयाँ लहर कि स्वीङको लाभ?
२०७९ को समानुपातिकतर्फ रास्वपाले यहाँ ९,४१२ मत ल्याएको थियो—कांग्रेस (११,८०८) र एमाले (१०,५६०)भन्दा धेरै टाढा होइन । यस पटक पुकार बम प्रत्यक्ष मैदानमा छन् । विवेकशील अभियानदेखि सक्रिय, शहरी शिक्षित युवामाझ पहिचान बनाएका बम घरदैलोमा आक्रामक छन् । संगठन कांग्रेस–एमालेजस्तो जरा गाडेको छैन । तर बूढानीलकण्ठको चपली क्षेत्र र कपनमा ‘नयाँ अनुहार’प्रति आकर्षण देखिएको एमालेकै बुझाइ छ । परम्परागत दलबाट आजित मतदाता र युवा पुस्ता यदि एकतर्फ ध्रुवीकृत भए भने पुकार बम ‘किङमेकर’ मात्र होइन, ‘किङ’ पनि बन्न सक्छन् ।

नेकपा र अरूको गणित
एकीकृत कम्युनिस्ट धारबाट इन्द्र भुसाल उम्मेदवार छन् । २०७९ मा माओवादी (१,५६४) र एकीकृत समाजवादी (१,७१३) को मत कांग्रेसतर्फ गएको थियो । अहिले ती मत छुट्टिए भने कांग्रेसको अघिल्लो अग्रता घट्नेछ । राप्रपाले २०७९ मा ६,८८९ समानुपातिक मत ल्याएको थियो । त्यो राष्ट्रवादी मत कता ढल्किन्छ भन्ने कुरा पनि निर्णायक हुनेछ ।

भूगोल र मतको मनोविज्ञान
यो क्षेत्र दुई फरक चरित्र बोकेको छ । महानगरका वडा १, ७, ८, ३०—पुराना रैथाने, शिक्षित मध्यमवर्ग । बूढानीलकण्ठका वडा १, २, ८–१३—बसाइँसराइ मतदाताको बाहुल्य । कपन क्षेत्रमा सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, दोलखा, ओखलढुंगाबाट आएका मतदाताको बाक्लो उपस्थिति छ । उनीहरूको मत यदि चलायमान भयो भने समीकरण रातारात बदलिन सक्छ । स्थानीय मुद्दा भने उही—हिलाम्मे सडक, ढल, बाढी, अलपत्र योजना । “चुनावमा मात्रै देखिने नेता” भन्ने भाष्य बलियो छ । यो आक्रोशले पुरानालाई दण्ड र नयाँलाई अवसर दिन सक्छ ।

अंकगणित के भन्छ?
२०७९ मा कांग्रेस र एमालेको समानुपातिक मतबीच अन्तर मात्र १,२४८ थियो । रास्वपा करिब ९ हजार मतसहित नजिकै थियो । यस पटक कुल मतदाता ७६ हजार १ सय ४१ छन् । नयाँ मतदाता, गठबन्धनको अभाव, र मत विभाजन—यी सबैले काठमाडौं–४ लाई शुद्ध त्रिपक्षीय भिडन्तमा परिणत गरेका छन् । काठमाडौँ–४ अब ‘गगनको गढ’ भन्दा पनि ‘खुला रणभूमि’ बनेको छ । सचिनले विरासत जोगाउने कि राजनले पुनरागमन गर्ने ? कि पुकार बमले नयाँ अध्याय सुरु गर्ने ? त्यसका  लागि फागुन २१ कुर्नुपर्नेछ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार