Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टिप्पणी

देउवा जोगाउन ओलीले लिए एआईको सहारा, फेरि बाँड्दैछन् घरघरमा ग्यासको सपना

काठमाडौं । एमालेलाई हराउन बालेन, स्वतन्त्र उम्मेदवार वा नयाँ राजनीतिक शक्तिहरू मैदानमा उत्रिनै पर्दैन । किनभने एमालेलाई कमजोर पार्न, उसलाई हारतिर धकेल्न,  उसकै शीर्ष नेताको बोली र व्यवहार नै पर्याप्त छ । विशेषतः भक्तपुर २ का उम्मेदवार महेश बस्नेत अनि केपी ओलीको राजनीतिक शैली, भाषण र प्रवृत्तिले एमाले आफैँलाई बोझ बन्दै लगेको छ ।

आज एमालेको ठूलो विपक्षी कोही छ भने स्वयं केपी शर्मा ओली नै हुन् । झापामा पुगेर केपी ओलीले जे बोले, त्यो सुन्दा जोकोहीको पारा छुट्छ । त्यहाँ कुनै दूरदर्शी नेतृत्वको आत्मविश्वास देखिएन । बरु मतदातालाई हल्का रूपमा लिने, उनीहरूलाई अझै पनि २०७४ सालकै भीड सम्झिने अहंकार देखियो ।

कहिले पानीजहाजको सपना, कहिले रेलको हावा गफ बाँड्ने नेता आज आएर प्रमाणित घटनालाई “एआईले बनाएको” भनेर उडाइदिन्छन् । शेरबहादुर देउवाको घरमा जेनजी आन्दोलनमा जलेको पैसाको विषय फोरेन्सिक रिपोर्टले पुष्टि गरिसकेको छ । तर ओलीका लागि त्यो सत्य होइन, त्यो त ‘एआई’ हो ।

कमरेड, कति झुट बोल्न सकिन्छ ? यो एउटा शब्दको गल्ती होइन । यो सोचको समस्या हो । यो नियतको खोट हो । सत्य देखेर पनि नदेखेझैँ गर्ने, प्रमाण आएपछि पनि अस्वीकार गर्ने प्रवृत्ति नेतृत्वको कमजोरी हो । अझ चिन्ताजनक त के भने, यो कमजोरीलाई राजनीतिक चलाखी ठानिएको छ । तर जनतालाई गुमराहमा राख्नु चलाखी होइन । त्यो बेइमानी हो ।

ओलीले सायद सोचे—जनता उहीँ छन् । जसले ग्यास पाइपको गफ पत्याए, पानीजहाजको कथा सुने, रेल नेपाल भित्रिन्छ भनेर ताली बजाए । तर समय बदलिएको छ । यो २०७४ होइन । यो २०८२ हो । यो डिजिटल युग हो । अब नागरिक यति सचेत भइसके कि उनीहरू फ्याक्ट चेक गर्छन् । प्रमाण, तथ्य र डेटा जनताको हातमा छ ।

ओलीले देउवाको घर जलेको घटनालाई नक्कली भने । भिडियो एआईले बनाएको आरोप लगाए । तर प्रश्न के हो भने—के प्रधानमन्त्री भइसकेको व्यक्तिले फोरेन्सिक रिपोर्टलाई यो हदको मजाक बनाउन मिल्छ ? के प्रमाणित सत्यलाई ‘प्रविधि’ को बहानामा लुकाउन पाइन्छ ?

मन पर्ने मान्छेको श्वास पनि वास्ना आउँछ भनेजस्तै उनका कार्यकर्ताले त होहो भन्दै ताली बजाउलान् । अध्यक्षले दिउँसोलाई राति भनिदिए पनि पत्याउलान् । तर नागिरकलाई छलकपटक गर्न कस्तो लाज नभएको ? आफ्नै देशका नागरिकलाई मूर्ख ठान्न अलिकति डर लागेन ?
प्रमाणित भ्रष्टाचारलाई एआई भनेर पन्छाउनु भनेको सत्यसँग डराउनु हो । यस्तो डरले नेतृत्व बलियो होइन, कमजोर देखिन्छ । प्रचण्डले कुनै बेला भनेका थिए छलकपट गर्न माहिर कोही छ भने, झुट बोल्न कोही माहिर छ भने त्यो केपी ओली नै हुन् ।

हुन त ओलीको यो पहिलो पटक होइन । यो पुरानै बानी हो । सम्झनुस्—घरघरमा ग्यास पाइप ल्याउने कुरा । चुच्चे नक्साको राष्ट्रवाद । हावाबाट बिजुली निकाल्ने सपना ।

ती सबै गफ कहाँ पुगे ? हिजो मञ्चमा भाषण गरेर ७४ मा भोट बटुलेकै हुन् । तर उनले अहिलेको डिजिटल युग बुझेकै रहनेछन् । ओली पात्र उही हो । प्रवृत्ति उही हो । केवल शब्द बद्लिएको छ । सायद ओलीले झापाका मतदातालाई पनि “एआई” भनेर जे भने पनि पत्याइहाल्छन् भन्ने सोचे । तर झापा पनि बदलिएको छ । हातमा स्मार्टफोन बोकेको मतदाता अब भाषणमा होइन, तथ्यमा विश्वास गर्छ । जति भ्रम छरिए पनि सत्य लुक्दैन । बालेनले ओलीलाई चुनौती दिनुको कारण पनि यही हो । यो व्यक्तिगत दुश्मनी होइन । यो पुस्तागत प्रश्न हो ।

ओलीको यही एआईबारे कवि अर्जुन पराजुलीले कटाक्ष गर्दै कविता लेखेका छन् ।

नेताका घरमा नोट बालेको डलर बालेको
आगोले हैन एआईले हो
वानेश्वरमा हाम्रा छोरछोरी ढालेको
गोलीले हैन एआईले हो
एआईले नै हो
गर्दिन भन्दैभन्दै भ्रष्टाचार बाहेक केही नगरेको
एआईले नै हो
भिजिट भिसामा जनता बेच्ने शुभकाम सम्पन्न गरेको
एआईले नै हो
अदालत, अख्तियार आफ्ना छाता जुत्ता र झोलाहरूले भरेको
एआईले नै हो
शरणार्थी गिरीबन्धसु आदि इत्यादि काण्ड आविष्कार गरेको
डाँडाका टुप्पैपिच्छे
भ्यूटावर बसाल्दै दुरबीन हाल्दै गरेको पनि एआईले हो
तुइन चुँडाल्दै
नदीमा मान्छे खसाल्दै गरेको पनि एआईले हो
पैँतीस वर्षदेखि लगातार जनता ढाँट्ने पनि एआई नै हो  ।
राष्ट्रियतालाई होलीवाइनसँग डलरमा साट्ने पनि एआई नै हो
र ज्यान जोगाउन डोरीमा झुन्डेर
हेलिकोप्टरबाट डाँडो काट्ने पनि एआई नै हो ।

सबै एआई हो । सायद अब मतदाताले सोधेको प्रश्नमा ओलीले दिएको जवाफ पनि एआई नै हो भन्न बेर लाउँदैनन् यिनीहरू ।
के अब पनि गफमै देश चल्छ ? के अब पनि सपना देखाएर, कार्यान्वयन नगरेर, जनतालाई उल्लु बनाइन्छ ? ओलीसँग थप भिजन छैन । ७४ कै गफ चिप्काउँदै ६ महिनामा घरघरमा ग्यास पुर्‍याइदिन्छु भन्न थालेका छन् ।

ओली तीन पटक प्रधानमन्त्री भए । तर ग्यास पाइप आयो ? आएन । अब प्रश्न समयको होइन, नियतको हो । एक पटक समय पुगेन । अर्को पटक गठबन्धनले दिएन । तेस्रो पटक के भयो ? अनि अहिले फेरि छ महिनामा ग्यास जोडिदिन्छु भन्ने गफ कसलाई सुनाइएको हो ? अस्ति भर्खरै किन जेन–जी आन्दोलन भयो ? के जनताले बिर्सेका छन् ? छैनन् । गफ दिन सजिलो छ । विकास गर्न गाह्रो छ । एक वर्ष होइन, छ महिना रे ! यो पुस्तालाई ललिपप देखाएर बहलाउने समय सकिएको छ ।

ओलीजी यो जेन–जी पुस्ता हो । उनीहरू Expectation र Reality तुलना गर्छन् । सडकमा पानी जमेको खाल्डो देख्छन् । त्यसमाथि कागजको डुंगा बगाएको दृश्य सम्झन्छन् । अनि सोध्छन्—हामीले सुनेको विकास यही हो ? ओली अहिले आफ्नो पुरानो फर्ममा फर्किएका छन् । फेरि विश्वामित्र नेपालमै जन्मिएको, राम नेपालकै भएको कथा सुनाउन ब्यस्त छन् ।

कार्यकर्ताले ताली पिट्छन् । तर नयाँ पुस्ता मोबाइलमा तथ्य खोज्छ । यथार्थ र भाषणको दूरी नाप्छ । अन्ततः प्रश्न एउटै हो—के अब पनि गफ पत्याउने ? कि सत्य खोज्ने ? निर्णय जनताको हातमा छ । र यो पटक जनता चुप लाग्ने अवस्थामा छैनन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार