NL न्यूज
उदयपुर । नजिकिँदै गरेको निर्वाचनले दुई क्षेत्र रहेको उदयपुरलाई पूरै छोपेको छ । चिया पसलदेखि चोक–चोकसम्म विकास होइन, कसले जित्ला ? भन्ने बहस चल्न थालेको छ। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको दौडाहाले नयाँ शक्तिमा उत्साह थपेको छ भने पुराना दलहरू आफ्नै विरासत जोगाउने ध्याउन्नमा देखिएका छन् ।
उदयपुर निर्वाचन क्षेत्र नं. १ यसपटक अझै रोचक बनेको छ । कारण स्पष्ट छ—यो क्षेत्र सधैँ जित्दै आएका कांग्रेस नेता नारायण खड्का चुनावी मैदानमा छैनन् । निरन्तर जित्दै आएका नेताको अनुपस्थितिले शक्ति सन्तुलन फेरिएको छ । विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको आन्तरिक मनोविज्ञान, पुराना नेताहरूको ‘ट्रमा’ र नयाँ अनुहारको उदयले प्रतिस्पर्धालाई खुला बनाइदिएको छ ।
प्रतिस्पर्धी को–को ?
एमाले – दुर्गाकुमार थापा
कांग्रेस – विदुर बस्नेत
नेपाली कम्युनिष्ट पार्टी – बलदेव चौधरी
रास्वपा – पारसमणि गेलाल
राप्रपा – सुभासचन्द्र खड्का
श्रम संस्कृति – राजेशकुमार राई
उज्यालो नेपाल – अर्जुन तामाङ
यसका अतिरिक्त नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, संयुक्त नागरिक पार्टी, नेपाल जनमुक्ति पार्टी, नेकपा (माओवादी), नेपाली जनता दल, जनता समाजवादी पार्टी, आमजनता पार्टी, नागरिक सर्वोच्चता पार्टी र १ स्वतन्त्र उम्मेदवार गरी कुल १८ जना चुनावी मैदानमा छन् । संख्या धेरै भए पनि यो क्षेत्रको वास्तविक भिडन्त पुराना दल र नयाँ राजनीतिक धारबीच हुने संकेत देखिन्छ ।
मतदाता : संख्या बढ्यो
उदयपुर–१ मा यसपटक १ लाख ४२ हजार ८ सय ४ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा यहाँ १ लाख ३५ हजार ५ सय २५ मतदाता थिए । यस आधारमा यसपटक ७ हजार २ सय ७९ मतदाता थपिएका छन् । नयाँ मतदाताको यो संख्या नै रास्वपा जस्ता नयाँ शक्तिका लागि मुख्य आशा बनेको छ ।
प्रतिष्पर्धीका आ-आफ्नै दाउ
दुर्गाकुमार थापा (एमाले) : स्थानीय प्रभावको भरोसा
एमालेका उम्मेदवार दुर्गाकुमार थापा स्थानीय राजनीतिमा परिचित अनुहार हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलका नगरपालिकाका मेयर निर्वाचित भएका थापा २०७९ मा भने सोही पदमा पराजित भएका थिए । स्थानीय तहको अनुभव, संगठन र पुरानो मत आधार उनको मुख्य बल हो । नारायण खड्काको अनुपस्थितिले एमाले यसपटक आशावादी देखिएको छ ।
विदुर बस्नेत (कांग्रेस) : विरासत सम्हाल्ने चुनौती
कांग्रेसले यसपटक विदुर बस्नेतलाई मैदानमा उतारेको छ । उनी कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेता हुन् र विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । स्थानीयस्तरमा लोकप्रिय मानिने बस्नेत क्षेत्रगत विकाससँगै विधायिकी व्यवस्थापनमा आफू सक्षम रहेको दाबी गर्छन् । तर, नारायण खड्काजस्तो स्थापित नेताको अभावमा कांग्रेसलाई मत जोगाउने चुनौती भने सहज छैन ।
बलदेव चौधरी (नेपाली कम्युनिष्ट पार्टी) : अनुभव र कानुनी पृष्ठभूमि
नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्य बलदेव चौधरीलाई उम्मेदवार बनाएको छ । एकीकरण प्रक्रियाबाट आएका चौधरी तत्कालीन नेकपा (एकीकृत समाजवादी) का पनि केन्द्रीय सदस्य थिए । कानुन व्यवसायी रहेका उनी २०७४ सालमा त्रियुगा नगरपालिकाका मेयर निर्वाचित भएका थिए । प्रशासनिक अनुभव र कानुनी दक्षता उनको मुख्य आधार मानिन्छ ।
पारसमणि गेलाल (रास्वपा) : नयाँ पुस्ताको आवाज
रास्वपाबाट ४० वर्षीय पारसमणि गेलाल मैदानमा छन् । व्यवसायी पृष्ठभूमिका गेलाल पार्टीको उद्योग विभाग सचिव हुन् ।
रोजगारी, उद्यमशीलता र नयाँ पुस्ताको भावना प्रतिनिधित्व गर्ने एजेन्डासहित उनी मैदानमा छन् । बालेन शाहको सक्रियताले रास्वपाका कार्यकर्तामा उत्साह थपिएको देखिन्छ ।
अन्य दल : मत विभाजनका खेलाडी
राप्रपाका सुभासचन्द्र खड्का
श्रम संस्कृतिका राजेशकुमार राई
उज्यालो नेपालका अर्जुन तामाङ
सहित अन्य दलका उम्मेदवारले जितभन्दा बढी मत तलमाथि गर्ने भूमिका खेल्न सक्ने अनुमान छ ।
२०७९ सालको निर्वाचन : फर्केर हेर्दा
२०७९ मा कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावमा होमिएका थिए ।
प्रत्यक्षतर्फ
कांग्रेस – नारायण खड्का : ३१,२७० मत (विजयी)
एमाले – मञ्जुकुमारी चौधरी : २८,८९१ मत
राप्रपा – ध्रुवकुमार राय माझी : ३,९१५ मत
रास्वपा – उद्धव अधिकारी : ३,४४४ मत
जसपा नेपाल – गोपाल राई : १,९०६ मत
समानुपातिकतर्फ
एमाले – २३,८३६ मत
कांग्रेस – १९,४७६ मत
माओवादी केन्द्र – ९,७३९ मत
रास्वपा – ७,३३७ मत
राप्रपा – ४,३७५ मत
प्रत्यक्षतर्फ कांग्रेस अगाडि देखिए पनि समानुपातिक मतले एमालेको संगठनात्मक शक्ति र रास्वपाको उदय स्पष्ट देखाएको थियो।
उदयपुर–१ ले कसलाई रोज्ला ?
उदयपुर–१ मा यसपटक चुनाव विरासतविहीन मैदान जस्तो देखिन्छ । कांग्रेस अघिल्लो जित जोगाउने संघर्षमा छ । एमाले अवसर खोजिरहेको छ । नेपाली कम्युनिष्ट पार्टी अनुभवको भरोसामा छ । रास्वपा नयाँ मतदाताको आशामा छ । स्थानीय तहमा कांग्रेस, एमाले र नेकपाको प्रभाव अझै देखिए पनि नयाँको प्रवेश र युवा मतदाता ले समीकरण उल्ट्याउने सम्भावना पनि उत्तिकै छ । अन्ततः प्रश्न एउटै छ, उदयपुर–१ का मतदाताले परिचित अनुहार रोज्छन् कि नयाँ राजनीतिक प्रयोग ?





प्रतिक्रिया दिनुहोस्