Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पाल्पा–२ मा फेरि गैरे र पाण्डेय आम्नेसाम्ने हुँदा रास्वपाले के गर्ला ? मतदाताको माग के ?

पाल्पा ।  लुम्बिनी प्रदेशको पाल्पा निर्वाचन क्षेत्र नं. २ मा चुनावी चहलपहल तीव्र बनेको छ। पहाडी भूगोल, राजनीतिक रूपमा सचेत मतदाता र लामो समयदेखि स्थापित नेताहरूको उपस्थिति भएको यो क्षेत्र यसपटक पनि सजिलै निष्कर्षमा पुग्ने अवस्थामा देखिँदैन । यस निर्वाचन क्षेत्रमा १४ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार गरी १६ जना चुनावी मैदानमा छन् । उम्मेदवार धेरै भए पनि वास्तविक प्रतिस्पर्धा भने मुख्यतः एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नयाँ शक्तिबीच केन्द्रित हुने संकेत देखिन्छ ।

मतदाता : संख्या बढ्दै, नयाँ पुस्ता निर्णायक !
पाल्पा–२ मा यसपटक १ लाख ९ हजार ५३ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा यहाँ १ लाख ५ हजार २ सय ९३ मतदाता थिए । यस आधारमा यसपटक ३ हजार ७ सय ६० मतदाता थपिएका छन् । नयाँ मतदाता र वैकल्पिक राजनीतिक धारप्रति चासो राख्ने समूहले नतिजामा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

इतिहासमा वाम प्रभाव बलियो
पाल्पा–२ लामो समयदेखि वाम राजनीति प्रभावशाली क्षेत्र मानिन्छ । संसदीय निर्वाचनहरूमा वामपन्थी दल वा तिनबाट विभाजित धारले निर्णायक भूमिका खेल्दै आएका छन् । २०७९ सालको निर्वाचनमा एमालेका ठाकुरप्रसाद गैरे विजयी भए पनि मतान्तर फराकिलो थिएन । यसले देखाउँछ—यहाँ मतदाता पूर्ण रूपमा एकतर्फ ढल्किएका छैनन् ।

मुख्य प्रतिस्पर्धी : को-को ?
ठाकुरप्रसाद गैरे (एमाले) : दोहोर्‍याउने दाबी

एमालेका केन्द्रीय सदस्य ठाकुरप्रसाद गैरे पुनः मैदानमा छन् । उनी २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
अखिलको केन्द्रीय अध्यक्ष हुँदै संसदीय समितिको सभापतिसम्मको यात्रा तय गरेका गैरे २०६२/०६३ को जनआन्दोलनका सक्रिय विद्यार्थी नेता पनि हुन् । सत्ता, संगठन र संसदीय अनुभव उनको मुख्य आधार हो । अधुरा योजना पूरा गर्ने र विकासलाई निरन्तरता दिने उनको मुख्य एजेन्डा छ ।

सोमप्रसाद पाण्डेय (नेपाली कम्युनिष्ट पार्टी) : अनुभवको भरोसा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता सोमप्रसाद पाण्डेय यस क्षेत्रका पुराना र परिचित राजनीतिक अनुहार हुन् । २०५१ सालदेखि संसदीय निर्वाचनमा सक्रिय पाण्डेय २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भइसकेका छन् । पाल्पा दमकडका स्थायी बासिन्दा पाण्डेय पूर्वउद्योग मन्त्रीसमेत हुन् । नेकपाका सहसंयोजक माधवकुमार नेपालका आफन्तसमेत रहेका पाण्डेय अनुभव, वैचारिक निरन्तरता र व्यक्तिगत सम्बन्धलाई आफ्नो बल मान्छन् ।

हिमालदत्त श्रेष्ठ (कांग्रेस) : संगठनको भरोसा
नेपाली कांग्रेसले यसपटक हिमालदत्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी कांग्रेस पाल्पा जिल्ला सभापति हुन् ।
स्थानीय तहमा राम्रो पकड बनाएका श्रेष्ठ संगठनात्मक शक्तिलाई आफ्नो मुख्य आधार मान्छन् । उनले निर्वाचनलाई जित–हारभन्दा पनि नागरिक शिक्षा र सामाजिक चेतनाको माध्यमका रूपमा लिएको बताउँदै आएका छन् । कांग्रेसको समानुपातिक मत बलियो देखिनु उनको पक्षमा जाने संकेत मानिन्छ ।

नयाँ र अन्य शक्ति : मत विभाजनका कारक
माधवबहादुर थापा (रास्वपा) : स्थानीय नेता, शिक्षा–स्वास्थ्य र जनचेतनामा केन्द्रित एजेन्डा
डुलबहादुर कुँवर (राप्रपा) : शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता
मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जसपा, माओवादी र अन्य दलका उम्मेदवार पनि मैदानमा छन्
यी उम्मेदवारको प्रभाव जितभन्दा बढी मत तलमाथि गराउने दिशामा देखिन्छ ।

२०७९ सालको अंकगणित  
प्रत्यक्षतर्फ

एमाले – ठाकुरप्रसाद गैरे : २८,६४५ मत (विजयी)
एकीकृत समाजवादी – सोमप्रसाद पाण्डेय : २४,८९९ मत (कांग्रेस-माओवादी केन्द्रको साथ)
रास्वपा – सोमप्रसाद गैरे : ५,३४९ मत
मंगोल नेशनल अर्गनाइजेशन – मनबहादुर दर्लामी : १,६०४ मत

समानुपातिकतर्फ
एमाले – २२,५२९ मत
कांग्रेस – २०,१५४ मत
रास्वपा – ८,३७७ मत
माओवादी – ५,९९४ मत
राप्रपा – १,१५० मत
प्रत्यक्षमा एमाले अगाडि देखिए पनि समानुपातिकतर्फ कांग्रेस र रास्वपाको उल्लेखनीय मतले क्षेत्र बहुकोणीय रहेको संकेत गर्छ ।

पाल्पा–२ ले के रोज्ला ?
पाल्पा–२ मा चुनाव निरन्तरता र परिवर्तनबीचको द्वन्द्व जस्तो देखिन्छ। एमाले अघिल्लो जित दोहोर्‍याउने दाउमा छ । नेकपा अनुभवको भरोसामा छ । कांग्रेस संगठनको बल देखाउन चाहन्छ । र, नयाँ शक्तिले विकल्पको खोजीमा रहेका मतदाता तान्ने प्रयास गरिरहेको छ। पाल्पा–२ का मतदाताले स्थायित्व रोज्छन् कि नयाँ सन्तुलन  ? यसपटकको नतिजाले पाल्पाको मात्रै होइन, लुम्बिनी प्रदेशको राजनीतिक सन्देश पनि दिनेछ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार