Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप: पाकिस्तानको विजयी सुरुवात, नेदरल्यान्ड्स तीन विकेटले पराजित

कोलम्बो । टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो।

१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। खेल एक समय नेदरल्यान्ड्सको पक्षमा गइरहेको भए पनि अन्त्यमा फहिम अशरफको विस्फोटक ब्याटिङले पाकिस्तानलाई जित दिलायो। ११ बल खेलेका अशरफले तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित २९ रन जोडे।

पाकिस्तानका लागि साहिवजादा फरहानले ४७, साइम अयुवले २४, बाबर आजमले १५ तथा सलमान अघाले १२ रन बनाए। बलिङतर्फ नेदरल्यान्ड्सका आर्यान दत्त र पल भान मिकेरनले दुई–दुई विकेट लिए भने रोइलफ भान डर मेर्वे, लोगान भान बीक र काइल क्लेइनले एक–एक विकेट लिए।

यसअघि श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रन बनाउँदै अलआउट भयो।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट इडवार्ड्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यानले २० तथा आर्यान दत्तले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कप्तान इडवार्ड्स आउट भएपछि नेदरल्यान्ड्सको इनिङ धरासायी भयो। १७ औं ओभरमा नेदरल्यान्ड्सले दुई विकेट गुमायो, दुबै विकेट साइम अयुवले लिए।
बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए भने साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट हात पारे। साहिन शाह अफ्रिदीले एक विकेट लिए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार