NL न्यूज
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा सञ्चालन भइरहेको राष्ट्रिय लिगमा दर्शकको न्यून उपस्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपाली फुटबलको संरचना र नीतिमाथि गम्भीर प्रश्न उठाएका छन्।
फेसबुक स्टाटसमार्फत बालेन शाहले काठमाडौंमा हुने राष्ट्रिय लिगका खेलमा २–३ सय दर्शक पनि नदेखिनु दुःखद भएको उल्लेख गर्दै “नेपालको लोकप्रिय खेल फुटबल सकियो कि ?” भन्ने भावना धेरैमा देखिन थालेको बताएका छन्। तर, उनले मोफसलका गोल्डकप प्रतियोगितामा भने हजारौं दर्शकको भीड लाग्ने, फाइनल खेलमा टिकट नै नपाइने अवस्था हुने तथ्यलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
उनका अनुसार काठमाडौंमा हुने लिगका अधिकांश खेलाडी मोफसलमै उत्पादन भए पनि देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित छ। पछिल्ला वर्षमा केही क्लब डिभिजन फुटबलमा प्रवेश गरे पनि केन्द्रिकृत फुटबल संरचनाका कारण काठमाडौं बाहिरका क्लब टिक्न कठिन भएको शाहको टिप्पणी छ।
बालेन शाहले अब नेपाली फुटबलको नीति नै परिवर्तन हुनुपर्नेमा जोड दिएका छन्। फुटबललाई बिकेन्द्रिकरण गर्दै व्यवसायीक बनाइनुपर्ने, काठमाडौंमा केही क्लबमा मात्र सीमित नराखिनुपर्ने र खेलाडी तथा क्लब काठमाडौंमै आउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने उनको धारणा छ।
“काठमाडौंका क्लब र खेलाडीलाई मोफसलका टिमहरूले निम्ता दिन सक्ने अवस्था बनोस्,” उनले लेखेका छन्।
उनले पूर्वमा झापा ११ मैदान उत्रिँदा धनगढीका रंगशाला दर्शकले भरिनुपर्ने, पश्चिमको धनगढी रंगशालामा मछिन्द्र र थ्रीस्टारजस्ता क्लबका झण्डा फहराउनुपर्ने कल्पना पनि व्यक्त गरेका छन्। साथै, फुटबल नहुँदा कुनै खेलाडी विदेशिन नपरोस् भन्ने चाहना समेत उनले व्यक्त गरेका छन्।
स्टाटसको अन्त्यमा बालेन शाहले आजबाट डोमालाल राजवंशी रंगशालामा सुरु हुन लागेको नेपालकै चर्चित प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण सफलताको शुभकामना दिएका छन्।





प्रतिक्रिया दिनुहोस्