Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

केन्द्रीय सुरक्षा समितिले किन लगायो निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध ?

काठमाडौं । आउँदो प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शुक्रबार बसेको समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अन्तर्गत सुरक्षा व्यवस्थालाई थप कडाइ गर्ने निर्णय गर्दै यस्तो व्यवस्था गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचनका क्रममा सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर ड्रोन प्रयोगमा रोक लगाइएको हो। मतदान स्थल, मतगणना केन्द्र र अन्य संवेदनशील स्थानमा अनधिकृत रूपमा ड्रोन उडाउन सकिने र त्यसले सुरक्षामा चुनौती थप्न सक्ने आकलन गरिएको छ।
निर्वाचन सुरक्षा समितिको बैठक
प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रीत रहेको गृह मन्त्रालयमा शुक्रवार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक

सुरक्षा निकायका अनुसार ड्रोनमार्फत भीडको अनधिकृत निगरानी, संवेदनशील दृश्यको दुरुपयोग, अफवाह फैलाउने सामग्री उत्पादन वा अवाञ्छित वस्तु खसाल्ने जोखिम हुन सक्छ। निर्वाचनजस्तो संवेदनशील समयमा यस्ता गतिविधिले भ्रम, त्रास र अव्यवस्था निम्त्याउन सक्ने भन्दै समितिले ‘नो–रिस्क’ नीति अपनाएको जनाएको छ।

बैठकले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने, आचारसंहिता उल्लंघन गर्ने मिथ्या तथा घृणास्पद अभिव्यक्तिमाथि निगरानी बढाउने निर्णय पनि गरेको छ।

त्यसैगरी निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था मिलाउने लगायतका तयारीबारे पनि समीक्षा गरिएको छ। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखसँग निर्वाचन सुरक्षाको तयारीबारे ब्रिफिङ लिँदै जोखिमको मूल्यांकन गरी सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन दिएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार