Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

गोरखा–१ मा कांग्रेस र एमालेका लागि टाउको दुखाइ बन्न सक्छन् सुधन गुरुङ

गोरखा । नेपाल एकीकरणको प्रस्थान विन्दु गोरखा । आज पनि विश्वजगतमा नेपालीलाई ‘गोर्खाली’ भनेर चिनिनु यही भूमिको ऐतिहासिक पहिचान हो । चिसो मौसमले प्रभावित गोरखामा यतिबेला चुनावी सरगर्मीले माहोल तताएको छ । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहँदा त्यसको वहावले गोरखालाई राम्रै छोएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको गोरखाको क्षेत्र नं १ मा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । मतदाताहरू भने उम्मेदवारका आश्वासन सुन्दै विगतका काम र वर्तमानको एजेन्डाबीच हिसाब–किताब गरिरहेका छन् । यसपटक गोरखा–१ को निर्वाचन विशेष रूपमा पुस्तान्तरणको प्रतिष्पर्धा जस्तो देखिन्छ । एक जना बाहेक सबै उम्मेदवार ६० वर्षमुनिका छन् । रास्वपाले ४० वर्षमुनिका उम्मेदवार उतार्दा कांग्रेस र एमालेले पनि ४५ वर्षमुनिका अनुहारलाई अघि सारेका छन् ।

रोचक संयोग के छ भने भदौ २३–२४ को जेनजी आन्दोलनका मुख्य अभियन्तामध्येका सुधन गुरुङ रास्वपाबाट मैदानमा उत्रिएका छन् । एमालेले २०६२/६३ को जनआन्दोलनका अभियन्ता रामचन्द्र (आरसी) लामिछानेलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले पछिल्ला आन्दोलनमा सक्रिय ४२ वर्षीय प्रेमकुमार खत्रीलाई मैदानमा उतारेको छ । कांग्रेसको विशेष महाधिवेशनपछि बनेको आन्तरिक समीकरणले गोरखा–१ मा खत्रीले अवसर पाएका छन् ।

मतदाता र उम्मेदवार
गोरखा क्षेत्र नं १ मा यसपटक १ लाख २० हजार ५२५ मतदाता छन्। अघिल्लो २०७९ सालको निर्वाचनमा यहाँ १ लाख १५ हजार ३९७ मतदाता थिए । यसपटक ५ हजार १२८ मतदाता थपिएका छन्, जसले चुनावी समीकरणमा भूमिका खेल्न सक्ने देखिन्छ। यस क्षेत्रमा ११ राजनीतिक दलका उम्मेदवार र १ स्वतन्त्र उम्मेदवार गरी १२ जना चुनावी मैदानमा छन् ।

को–को छन् चुनावी मैदानमा ?
एमाले – रामचन्द्र लामिछाने
कांग्रेस – प्रेमकुमार खत्री
नेपाली कम्युनिष्ट पार्टी – हरिराज अधिकारी
रास्वपा – सुधन गुरुङ
राप्रपा – केदारमणि खनाल
उज्यालो नेपाल – रामकाजी राना मगर
स्वतन्त्र १ जना, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, संयुक्त नागरिक पार्टी, नेशनल रिपब्लिक नेपाल,  नेकपा (माओवादी) का उम्मेदवार मैदानमा छन् ।

२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ

कांग्रेस – राजेन्द्र बजगाईं : ३३,४२८ मत (विजयी)
एमाले – रामशरण बस्नेत : १६,७८५ मत
रास्वपा – सुवर्ण रोकाहा : ४,८९२ मत
अन्य उम्मेदवारले १ हजार मत पनि कटाउन सकेनन्।

समानुपातिकतर्फ
माओवादी केन्द्र – १८,४७१ मत
कांग्रेस – १५,२७१ मत
एमाले – ११,८९३ मत
रास्वपा – ७,२४६ मत
राप्रपा – १,३४४ मत
अन्य दलको मत उल्लेखनीय रहेन।

गोरखा–१ को चुनावी इतिहास
संविधान जारी हुनुअघि गोरखा जिल्लामा तीनवटा निर्वाचन क्षेत्र थिए । अहिले भने गोरखा दुई निर्वाचन क्षेत्रमा सीमित छ । गोरखा–१ मा २०४८ देखि २०५६ सालसम्म लगातार नेपाली कांग्रेसका चिरञ्जीवी वाग्ले निर्वाचित भए । मन्त्रीसमेत बनेका वाग्लेमाथि भ्रष्टाचार मुद्दा लागेपछि राजनीतिक यात्रा रोकियो ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले यहाँ जित निकाल्यो। २०७० सालमा बाबुराम भट्टराई यही क्षेत्रबाट निर्वाचित भए । २०७४ को निर्वाचनमा एमाले–माओवादी चुनावी एकता हुँदा माओवादीका हरि अधिकारी विजयी भए र निर्वाचन क्षेत्रको हेरफेरसँगै बाबुराम भट्टराईको निर्वाचन क्षेत्र २ भयो ।

२०७९ सालमा कांग्रेस–माओवादी गठबन्धन बन्यो । बाबुराम भट्टराईले आफ्नो पुरानो क्षेत्र छाड्दै तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिए । गठबन्धनअनुसार कांग्रेसले गोरखा–१ पायो र माओवादीले गोरखा–२ । त्यस निर्वाचनमा कांग्रेसका राजेन्द्र बजगाईं विजयी भए ।
तर, यसपटक बजगाईंले टिकट नपाएपछि कांग्रेस नै छाड्ने घोषणा गरेका छन् । यसले गोरखा–१ को चुनावलाई थप रोचक बनाएको छ।
इतिहास, आन्दोलन र पुस्तान्तरणको संगम बनेको गोरखा–१ मा यसपटक पुरानो राजनीतिक विरासत र नयाँ पुस्ताको आकांक्षा आमनेसामने छन्। जेनजी आन्दोलनको प्रभाव, नयाँ मतदाताको प्रवेश र दलभित्रको आन्तरिक समीकरणले यो निर्वाचनलाई केवल प्रतिस्पर्धा मात्र होइन, राजनीतिक सन्देशको परीक्षा बनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार