Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सप्तरी–४ मा तेजुलाललाई बबीको काउण्टर, सीतारामले घण्टी बजाउँदा जनमत पनि कम छैन

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभा उपनिर्वाचनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बनेको छ। संख्यात्मक हिसाबले यहाँ २५ जना उम्मेदवार चुनावी मैदानमा छन्। तर, व्यक्तित्व, संगठन र विगतको मत परिणामलाई हेर्दा प्रतिस्पर्धा मुख्यतः कांग्रेस, मधेश केन्द्रित दल र केही नयाँ शक्तिबीच केन्द्रित हुने देखिन्छ। यही कारण सप्तरी–४ लाई यसपटक जिल्लाकै ‘हेविवेट भिडन्त’ हुने क्षेत्रका रूपमा हेरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी–४ मा यसपटक १ लाख ९ हजार ५ सय ६६ मतदाता रहेका छन्। २०७९ सालको निर्वाचनमा यहाँ १ लाख ४ हजार ८ सय ९३ मतदाता थिए। त्यसअनुसार यसपटक ४ हजार ६ सय ७३ मतदाता थपिएका छन्। नयाँ मतदाता र दलगत पुनर्संरचनाले नतिजा अघिल्लो निर्वाचनभन्दा फरक आउन सक्ने आँकलन गरिएको छ।

कांग्रेसको भरोसा : तेजुलाल चौधरी
नेपाली कांग्रेसबाट पूर्वमन्त्री तेजुलाल चौधरी दोस्रोपटक मैदानमा छन्। २०७९ सालको निर्वाचनमा २३ हजार ४ सय ९१ मत ल्याएर विजयी भएका चौधरी सप्तरी–४ का स्थापित राजनीतिक अनुहार हुन्। संगठन, अनुभव र व्यक्तिगत पहुँच उनका मुख्य बलिया पक्ष मानिन्छन्।
कांग्रेस नेताहरूका अनुसार यस क्षेत्रमा पार्टीको संगठन स्थिर छ र अघिल्लो निर्वाचनमा पाएको अग्रता जोगाउन सकिने अवस्था छ। “मत विभाजन भए पनि कांग्रेसको आधारभूत मत सुरक्षित छ,” कांग्रेस पक्षको विश्लेषण छ।

मधेश केन्द्रित दलको चुनौती
अघिल्लो निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा सप्तरी–४ मा मधेश केन्द्रित दलहरूको प्रभाव बलियो देखिन्छ। विशेषगरी जनमत पार्टी र जसपा नेपाल यहाँ निर्णायक शक्तिका रूपमा उभिएका थिए। जनमत पार्टीबाट जितेन्द्रकुमार साह उम्मेदवार छन्। २०७९ मा प्रत्यक्षतर्फ जनमतका उम्मेदवारले १२ हजार ९ सय २५ मत पाएका थिए भने समानुपातिकतर्फ जनमत पार्टी पहिलो स्थानमा थियो। यस आधारमा जनमत यसपटक पनि प्रतिस्पर्धामा बलियो देखिन्छ। जसपा नेपालबाट वाँवी सिंह मैदानमा छन्। अघिल्लो निर्वाचनमा जसपा नेपालका उम्मेदवारले १७ हजार ९ सय ७७ मत ल्याएका थिए, जुन कांग्रेसपछि दोस्रो ठूलो मत थियो। जसपा, जनमत र अन्य मधेश केन्द्रित दलबीच मत विभाजन भएन भने कांग्रेसका लागि चुनौती गहिरो बन्न सक्छ।

एमाले र नयाँ शक्तिको अवस्था
नेकपा एमालेबाट गंगाप्रसाद चौधरी उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा एमाले प्रत्यक्षतर्फ कमजोर देखिए पनि संगठनात्मक संरचना र राष्ट्रिय राजनीतिमा एमालेको पकडका कारण यसपटक मत बढ्ने अपेक्षा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सीताराम साह मैदानमा छन्। २०७९ मा रास्वपाले यहाँ समानुपातिकतर्फ १ हजार १ सय १० मत मात्रै पाएको थियो। तर, पछिल्लो समय नयाँ मतदाता र वैकल्पिक राजनीतिक खोजी गर्ने समूहका कारण रास्वपाको मत प्रतिशत बढ्न सक्ने आँकलन छ।

राप्रपाबाट रुपकुमार न्यौपाने, नेकपाबाट रुवीकुमारी कर्ण र उज्यालो नेपाल पार्टीबाट विशो कुमार यादव पनि स्थानीय स्तरमा परिचित अनुहार मानिन्छन्। यिनले जित्ने सम्भावना कम देखिए पनि मत विभाजनमा भूमिका खेल्न सक्ने अनुमान छ।

२०७९ सालको निर्वाचन : अंकगणित के भन्छ ?
प्रत्यक्षतर्फ

कांग्रेस – तेजुलाल चौधरी : २३,४९१ मत (विजयी)
जसपा नेपाल – वालकिशोर यादव : १७,९७७ मत
जनमत पार्टी – सुकदेवप्रसाद साह : १२,९२५ मत
बहुजन शक्ति पार्टी : ३,१७५ मत
नागरिक उन्मुक्ति पार्टी : १,५०९ मत

समानुपातिकतर्फ
जनमत पार्टी – १५,१२३ मत
जसपा नेपाल – ११,७७५ मत
कांग्रेस – ९,९२३ मत
एकीकृत समाजवादी – ६,३३८ मत
नागरिक उन्मुक्ति पार्टी – ६,३०४ मत
एमाले – ४,७७५ मत
रास्वपा – १,११० मत
अंकगणितले देखाउँछ— प्रत्यक्षमा कांग्रेस अगाडि भए पनि समानुपातिकमा मधेश केन्द्रित दलहरू बढी प्रभावशाली छन्।

सम्भाव्यता : मत विभाजनले नतिजा बदल्न सक्छ
सप्तरी–४ मा यसपटक २५ उम्मेदवार मैदानमा हुनु नै सबैभन्दा ठूलो चुनौती हो। एउटै समुदाय, उस्तै मुद्दा र मिल्दोजुल्दो राजनीतिक एजेन्डा बोकेका उम्मेदवारबीच मत बाँडिँदा थोरै मतान्तरले नतिजा पल्टिन सक्ने अवस्था छ। कांग्रेस आफ्नो अघिल्लो जित दोहोर्‍याउने दाउमा छ। जनमत र जसपा नेपाल कांग्रेसको पकड तोड्ने रणनीतिमा छन्। एमाले र नयाँ दलहरूले मत कटाउने भूमिकामा देखिन्छन्। यही कारण सप्तरी–४ को निर्वाचन एकतर्फी होइन, बहुकोणीय प्रतिस्पर्धामा परिणत भएको छ। अन्ततः  मतदाताले स्थिरता रोज्छन् कि पहिचान र परिवर्तनको राजनीतिलाई प्राथमिकता दिन्छन्— त्यसले सप्तरी–४ को नतिजा तय गर्नेछ।  
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार