Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इस्लामाबादको इमामबर्गाहमा विस्फोट: कम्तीमा १५ जनाको मृत्यु, ८० भन्दा बढी घाइते

इस्लामाबाद । संघीय राजधानी इस्लामाबादको तारलाइ क्षेत्रमा रहेको इमामबर्गाह खादिजा अल–कुब्रामा शुक्रबारको नमाजका क्रममा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १५ जनाको ज्यान गएको छ भने ८० भन्दा बढी घाइते भएका छन्। जिल्ला प्रशासनका प्रवक्ताले यसबारे जानकारी दिएका छन्।

विस्फोटपछि प्रहरी र रेस्क्यु ११२२ का टोलीहरू घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य सुरु गरेका छन्। घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। उक्त आक्रमण उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभको दुईदिने आधिकारिक पाकिस्तान भ्रमणकै क्रममा भएको हो, जसले सुरक्षा चासो थप बढाएको छ।

इस्लामाबाद क्यापिटल टेरिटोरी प्रहरीका प्रवक्ता तकी जवादका अनुसार विस्फोटको प्रकृति तत्काल पहिचान गर्न नसकिने बताउँदै फरेन्सिक टोलीको अनुसन्धानपछि मात्रै आत्मघाती आक्रमण हो वा बम राखेर गरिएको हो भन्ने पुष्टि हुने बताए। जिल्ला प्रशासनका प्रवक्ताले घटनास्थल पूर्ण रूपमा सुरक्षाकर्मीले सिल गरेको र घाइतेहरूको उपचारको निगरानी गर्न सहायक आयुक्तहरू विभिन्न अस्पतालमा खटाइएको जानकारी दिए।

घटनापछि इस्लामाबादको पोलिक्लिनिक, पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस र सीडीए अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको छ। 

निन्दा र समवेदना
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले विस्फोटमा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। पीपीपीले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा राष्ट्रपति जर्दारीले निर्दोष नागरिकलाई लक्षित गर्नु “मानवता विरुद्धको अपराध” भएको बताएका छन्।
राष्ट्रपतिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई सबै सम्भव चिकित्सकीय सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन्।

संसदीय मामिला मन्त्री तारिक फजल चौधरीले पनि सामाजिक सञ्जालमार्फत उक्त “कायरतापूर्ण आतंकवादी आक्रमण” को कडा निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र उपचारको कामना गरेका छन्। उनले भने, “यस्ता आतंकवादी गतिविधिले राष्ट्रको मनोबल कमजोर पार्न सक्दैन। शान्ति, सहिष्णुता र स्थायित्वका लागि हामी सबै एकताबद्ध हुन आवश्यक छ।”

सिनेटका विपक्षी नेता अल्लामा राजा नासिर अब्बासले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै संघीय राजधानीमै भएको यस्तो आतंकवादी आक्रमणले प्रशासन र सुरक्षा निकायको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। उनले भने, “पूजास्थललाई निशाना बनाउनु मानवता, धर्म र सामाजिक मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण हो, जुन कुनै पनि अवस्थामा सह्य हुन सक्दैन।”

अब्बासले इस्लामाबादका युवालाई अस्पतालमा रक्तदान गर्न अपिल गर्दै “बहुमूल्य जीवन बचाउन योगदान दिन” आग्रह गरेका छन्।
यसअघि पनि सन् २०२५ नोभेम्बर ११ मा इस्लामाबादको जी–११ क्षेत्रमा जिल्ला तथा सेसन अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु र ३० भन्दा बढी घाइते भएका थिए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार