Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राजनीतिक तनावबीच टी–२० विश्वकप भोलिबाट, बंगलादेश बाहिरिँदा पाकिस्तानको पनि अडान

काठमाडौं ।  राजनीतिक तनावको छायाँमा पुरुष क्रिकेटको टी–२० विश्वकप शनिबारदेखि सुरु हुँदैछ। भारत र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा २० टोली सहभागी हुने तय भए पनि बंगलादेशले अन्ततः विश्वकप बहिष्कार गरेको छ। बंगलादेश बाहिरिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले समूह ‘सी’ मा उसको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ। विश्वकपबाट बाहिरिनुको मुख्य कारण भारतसँग बढ्दो राजनीतिक तनाव र सुरक्षा चिन्ता रहेको बंगलादेशको दाबी छ।

बंगलादेश किन बाहिरियो ?
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न असुरक्षित हुने भन्दै आफ्ना खेलहरू श्रीलंकामा सार्न आईसीसीसँग अनुरोध गरेको थियो। तर, आईसीसीले कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको भन्दै उक्त प्रस्ताव अस्वीकार गर्‍यो। बीसीबीलाई प्रतियोगितामा सहभागिता जनाउन आईसीसीले अन्तिम २४ घण्टाको समयसीमा दिएको थियो। सो समयसीमा सकिएपछि बंगलादेशले विश्वकप बहिष्कार गर्ने निर्णय गर्‍यो र त्यसपछि स्कटल्यान्डलाई प्रतियोगितामा आमन्त्रित गरिएको हो।

बंगलादेश–भारत सम्बन्ध चिसिनुको पृष्ठभूमिमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले हिंसात्मक आन्दोलनपछि भारतमा शरण लिएको विषय पनि जोडिएको छ। भारतले हसिनालाई फिर्ता नपठाएको भन्दै बंगलादेशमा असन्तुष्टि बढेको बताइन्छ। यही तनावकै बीच इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई अनुबन्धबाट मुक्त गरेको थियो। त्यसपछि बंगलादेशले आफ्नो देशमा आईपीएलको प्रसारणमाथि प्रतिबन्ध लगाएको थियो।

पाकिस्तानले भारतसँग किन नखेल्ने ?
बंगलादेश बाहिरिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि विश्वकप बहिष्कार गर्ने संकेत दिएको थियो। पछि पाकिस्तानले प्रतियोगितामा सहभागी हुने तर भारतविरुद्धको खेल नखेल्ने निर्णय सार्वजनिक गर्‍यो। पाकिस्तानले फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा तय भएको भारतविरुद्धको खेलमा मैदानमा नउत्रने स्पष्ट पारेको छ। पाकिस्तान सरकारले टोलीको सहभागितालाई “अनुमोदन” गरे पनि भारतसँगको खेलका लागि स्वीकृति नदिएको जनाएको छ।

भारत र पाकिस्तानबीच २०१३ यता प्रमुख आईसीसी प्रतियोगिताबाहेक द्विपक्षीय क्रिकेट हुन सकेको छैन। भारतले सन् २००८ पछि पाकिस्तानमा क्रिकेट खेलेको छैन भने मुम्बई आक्रमणपछि पाकिस्तानी खेलाडीहरू आईपीएलबाट पनि प्रतिबन्धित छन्।

पाकिस्तानलाई के सजाय हुन सक्छ ?
आईसीसीले पाकिस्तानमाथि कस्तो कारबाही गर्ने भन्नेबारे अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरेको छैन। तर, भारतविरुद्धको खेल नखेलेमा भारतलाई दुई अंक दिइने र पाकिस्तानको नेट रन–रेटमा असर पर्ने अनुमान गरिएको छ। पाकिस्तानले समूह चरणमा नेदरल्याण्ड्स, संयुक्त राज्य अमेरिका र नामिबियासँग खेल्नेछ। यदि फाइनलमा भारतसँग भेट भयो भने के हुन्छ भन्ने विषय अझै स्पष्ट छैन। फाइनल भने भारतमै आयोजना हुने तय छ।

यसअघि पनि विश्वकपमा यस्ता घटना भएका छन्। १९९६ को विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिजले सुरक्षा कारण देखाउँदै कोलम्बो यात्रा नगरेका थिए। सन् २००३ मा इंग्ल्याण्डले जिम्बाब्वेसँग खेल्न अस्वीकार गर्दा आईसीसीले कुनै जरिवाना नलगाई अंक मात्र कटौती गरेको थियो।  

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार