Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चार वर्षीया बालिकाको मृत्यु प्रकरण : रास्वपामाथि रक्षा, भावना र तनुजाले उठाए गम्भीर प्रश्न

रौतहट । रौतहट–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शेख सगीरको चुनावी प्रचारमा प्रयोग भएको गाडीको ठक्करबाट चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएपछि राजनीतिक र सामाजिक वृत्तमा गम्भीर बहस सुरु भएको छ।

दुर्घटनापछि विशेषगरी जेन–जी पुस्ताका अभियन्ताहरूले सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै घटनालाई दलगत चस्माबाट नहेर्न आग्रह गरेका छन्। उनीहरूले अघिल्लो वर्ष एमाले मन्त्रीको गाडी संलग्न दुर्घटनामा देखिएको व्यापक आक्रोश र यसपटक देखिएको तुलनात्मक मौनताबीचको अन्तरमाथि प्रश्न उठाएका छन्।

जेन–जी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत लेख्दै दुर्घटना रोक्न नसकिने भए पनि जवाफदेहिता अनिवार्य हुनुपर्ने बताएकी छन्। “हिजो मन्त्रीको गाडीले ठक्कर दिँदा देशभर प्रश्न उठ्यो। आज चार वर्षीया बालिकाको ज्यान जाँदा किन आवाज कमजोर?” उनले सोधेकी छन्।

उनका अनुसार पीडितको पक्षमा बोल्नेलाई ‘राजनीति नगर’ वा ‘एजेन्डा नबनाऊ’ भन्दै ट्याग लगाउनु संवेदनशील विषयलाई पन्छाउने प्रवृत्ति हो। “जवाफदेहिता र न्यायको माग कहिलेदेखि राजनीति भयो?” उनको प्रश्न छ। पाण्डेले रास्वपा समर्थक र सामाजिक सञ्जाल पेजहरूलाई सम्बोधन गर्दै दलगत आग्रहभन्दा माथि उठेर मानवीय संवेदनशीलता देखाउन आग्रह गरेकी छन्।

उनको मतलाई समर्थन गर्दै भावना राउतले न्याय कुनै पार्टी विशेषको विषय नहुने बताएकी छन्। “कानुन सबैका लागि बराबर हो। दुर्घटना जोसुकैको गाडीबाट होस्, पार्टीभन्दा पहिले कानुन लागू हुनुपर्छ,” उनले लेखेकी छन्। उनले न्यायपालिका र प्रहरी प्रशासन स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिएकी छन्।

अर्की अभियन्ता रक्षा बमले पनि सामाजिक सञ्जालमार्फत अन्धसमर्थनको संस्कृतिको आलोचना गरेकी छन्। उनका अनुसार गलतलाई गलत भन्न नसक्ने राजनीति अन्ततः अन्धभक्तिमा परिणत हुन्छ। “पार्टीभन्दा माथि कानुन हुनुपर्छ। अपराध भनेको अपराध नै हो,” उनले उल्लेख गरेकी छन्।

घटनाबारे रास्वपाले दुःख व्यक्त गर्दै छानबिनमा प्रशासनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् र राहत उपलब्ध गराउने बताएका छन्। साथै सवारीसाधन परिचालनमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

तर, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा उठेको मूल प्रश्न भने अझै यथावत् छ—दुर्घटनामा संलग्न व्यक्तिको राजनीतिक पहिचानअनुसार प्रतिक्रिया किन फरक पर्छ? चार वर्षीया अल्फाको मृत्युले सडक सुरक्षा मात्र होइन, राजनीतिक नैतिकता र सार्वजनिक जवाफदेहितामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार