Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चार वर्षीया बालिकाको मृत्युमा किन मौनता?तनुजा पाण्डेको प्रश्न ‘जवाफदेहिता कहिलेदेखि राजनीति भयो?’

काठमाडौं ।  जेन–जी अभियन्ता तनुजा पाण्डेले हालैका दुई सडक दुर्घटनापछि देखिएको राजनीतिक प्रतिक्रिया र सामाजिक सञ्जालको व्यवहारमा ‘दोहोरो मापदण्ड’ देखिएको भन्दै प्रश्न उठाएकी छन्। उनले फेसबुकमार्फत लेख्दै दुर्घटनाजस्ता संवेदनशील विषयमा जवाफदेहिता र न्यायको माग उठाउँदा त्यसलाई ‘राजनीति’ भनेर पन्छाउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेकी हुन्।

पाण्डेले गत भदौ २१ गते नेकपा एमालेबाट कोशी प्रदेशका मन्त्री राम राना मगर सवार गाडीले ललितपुरमा एक बालिकालाई ठक्कर दिएको घटनाको स्मरण गरिन्। उक्त घटनापछि देशभर आक्रोश व्यक्त भएको र तत्कालीन सरकारमाथि व्यापक प्रश्न उठाइएको उनले उल्लेख गरेकी छन्।

तर बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रौतहट–२ का उम्मेदवार शेख सगिर सवार गाडीको ठक्करबाट चार वर्षीया बालिका अल्फा खातुनको ज्यान गएको घटनामा भने प्रतिक्रिया तुलनात्मक रूपमा कमजोर देखिएको उनको भनाइ छ। यसपटक पीडितको पक्षमा आवाज उठाउनेहरूलाई ‘राजनीति नगर’ र ‘एजेन्डा नबनाऊ’ भन्दै ट्याग लगाउने प्रवृत्ति देखिएको उनले बताएकी छन्। “दुर्घटना सधैं रोक्न सकिँदैन, तर जवाफदेही हुन सकिन्छ,” पाण्डेले लेखेकी छन्, “जवाफदेहिता र न्यायको माग कहिलेदेखि राजनीति भयो?”

उनका अनुसार हिजो अन्य दलका नेताको गल्तीमा बोल्नु नैतिक ठानिन्थ्यो भने आज आफ्नै पार्टीसँग जोडिएको घटनामा बोल्नु ‘राजनीति’ का रूपमा व्याख्या गरिँदैछ। गल्ती ढाकछोप गरेर पार्टी जोगाउने प्रयास नै गलत राजनीति भएको उनको तर्क छ।

पाण्डेले पार्टीको नाम वा चिन्हभन्दा माथि उठेर संवेदनशील र मानवीय विषयमा साझा दृष्टिकोण अपनाउन आग्रह गरेकी छन्। ‘घण्टी’ का समर्थक र सामाजिक सञ्जाल प्लेटफर्म ‘रुटिन अफ नेपाल बन्द’ लाई सम्बोधन गर्दै उनले दलगत आग्रह–पूर्वाग्रह त्याग्न आह्वान गरेकी छन्।
“परिवारलाई शक्ति र पीडितलाई न्याय दिलाउनु हाम्रो साझा जिम्मेवारी हो,” उनले उल्लेख गरेकी छन्।

नयाँ राजनीतिक धारका समर्थकहरूले पुराना अभ्यासभन्दा फरक चरित्र देखाउनुपर्ने दायित्व रहेको उल्लेख गर्दै पाण्डेले मानवीय संवेदनशीलतामा आधारित राजनीतिक संस्कार आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।


 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार