NL न्यूज
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६० जिल्लाको मतपत्र छपाइको काम सम्पन्न गरेको छ। तीमध्ये २५ जिल्लाको मतपत्र छपाइसँगै प्याकिङको कामसमेत सकिएको आयोगले जनाएको छ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछाम जिल्लाको मतपत्र छपाइ र प्याकिङ दुवै सम्पन्न भइसकेको छ। यसैगरी बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ कार्य पूरा भएको आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। समानुपातिकतर्फ कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ तथा रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
त्यसैगरी, प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेमा माघ १६ गतेदेखि सुरु भएको छपाइ कार्य अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। प्याकिङको काम पनि क्रमशः अघि बढिरहेको छ।
मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ।





प्रतिक्रिया दिनुहोस्