Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भारतको मेघालयमा कोइलाखानी विस्फोटः दुई नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते

खोटाङ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ।

खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो। मेघालयको उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको ज्यान गएको हो।

स्थानीय शिवकुमार श्रेष्ठका अनुसार मृतक दुवै खड्गबहादुर खपाङ्गी मगर र टंककुमारी खपाङ्गी मगरका छोरा हुन्। पूर्णबहादुर दाजु र सुरेन्द्र कान्छा भाइ हुन्। घटनामा सोही क्षेत्रका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर तथा उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सो विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति परिवार २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। साथै, घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने पनि प्रधानमन्त्री मोदीले बताएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार