Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

म्याग्दीमा १२ उम्मेदवार मैदानमा, महावीर पुनले चुनावी समीकरण उल्ट्याउलान् ?

म्याग्दी । म्याग्दी जिल्लामा प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढ्दै गएको छ । एउटै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यसपटक ११ राजनीतिक दल र १ स्वतन्त्र गरी १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । परम्परागत रूपमा कांग्रेस–एमालेबीच सीमित रहने यो क्षेत्र यसपटक स्वतन्त्र उम्मेदवारीका कारण निकै रोचक बनेको छ ।

पूर्वमन्त्री महावीर पुनको स्वतन्त्र उम्मेदवारीले म्याग्दीको चुनावी माहोल तताएको छ । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारमा शिक्षामन्त्री रहेका पुनले सुरुमा चुनाव नलड्ने बताएका थिए । तर, मनोनयन नजिकिँदै गर्दा मन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका उनले चुनावी समीकरण नै बदल्ने संकेत देखाएका छन् । सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमा उनको भोट माग्ने शैली फरक र चर्चित बनेको छ । यद्यपि, मन्त्री पद उपभोग गरेर चुनावमा गएको भन्दै उनी आलोचनामा पनि छन् ।

को–को छन् उम्मेदवार ?
• स्वतन्त्र – महावीर पुन
• नेकपा एमाले – हरिकृष्ण श्रेष्ठ
• नेपाली कांग्रेस – कर्णबहादुर भण्डारी
• नेकपा – अर्जुनबहादुर थापा
• राष्ट्रिय स्वतन्त्र पार्टी – युवराज रोका
• राष्ट्रिय प्रजातन्त्र पार्टी – डम्भरबहादुर सुवेदी
• राजमो – छेमबहादुर विक
• प्रलोपा – देवेन्द्र कामी
• मंगोल नेशनल अर्गनाइजेशन – भीमबहादुर लामा
• नेशनल रिपब्लिक नेपाल – तुलप्रसाद गर्बुजा
• श्रम संस्कृति पार्टी – विनोद राना
• नेकपा माओवादी – क्षेत्रबहादुर घिमिरे

मुख्य प्रतिस्पर्धा को-को बीच ?
इतिहास हेर्दा म्याग्दीमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । २०७४ को आमनिर्वाचनमा एमालेका भुपेन्द्रबहादुर थापाले जित्दा कांग्रेसका खमबहादुर गर्बुजा निकटतम् प्रतिद्वन्द्वी थिए । २०७९ सालमा भने कांग्रेसका खमबहादुर गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै बाजी मारेका थिए ।

यसपटक कांग्रेसले नयाँ अनुहारका रूपमा कर्णबहादुर भण्डारीलाई मैदानमा उतारेको छ । कांग्रेस नेतृत्वले नयाँ उम्मेदवारले मतदातामा उत्साह थप्ने र जित सुनिश्चित गर्ने विश्वास लिएको छ । उता, एमालेका हरिकृष्ण श्रेष्ठ दोस्रो पटक मैदानमा उत्रिएर अघिल्लो पराजयको बदला लिने रणनीतिमा छन् ।

तर, समीकरणलाई जटिल बनाउने पक्ष भने स्वतन्त्र उम्मेदवार महावीर पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका हुन् । देशभर उभार देखिएको रास्वपाले म्याग्दीमा पनि प्रभाव देखाउने दाबी गरिरहेको छ । महावीर पुन भने आफूजस्तै सरल, विकासमुखी र पार्टी राजनीतिबाट दिक्क भएका मतदाताले आफूलाई रोज्ने विश्वासमा छन् ।

मत विभाजन निर्णायक बन्ने संकेत
धेरै उम्मेदवार मैदानमा रहे पनि निर्णायक भूमिका भने कांग्रेस, एमाले, स्वतन्त्र र रास्वपाबीच सीमित हुने आँकलन गरिएको छ । साना दल र स्वतन्त्रको उपस्थितिले परम्परागत मत बैंकमा विभाजन गरिदिँदा थोरै मतान्तरले नतिजा उल्टिन सक्ने अवस्था छ ।

मतदाता संख्या
म्याग्दीमा यसपटक ८६,३९७ मतदाता रहेका छन् । २०७९ सालको आमनिर्वाचनमा यहाँ ८६,१२० मतदाता थिए । यसपटक मात्र २७७ मतदाता थपिएका छन्, जुन अन्य निर्वाचन क्षेत्रको तुलनामा निकै कम हो ।

२०७९ सालको आमनिर्वाचन : कसले कति मत पाए ?
प्रत्यक्षतर्फ

• खमबहादुर गर्बुजा – कांग्रेस – २४,०२१
• हरिकृष्ण श्रेष्ठ – एमाले – २०,१८९
• हरिबहादुर खत्री क्षेत्री – रास्वपा – १,४२४
अन्य दलले १ हजार मत पनि कटाउन सकेका थिएनन् ।

समानुपातिकतर्फ
• एमाले – १८,२७३
• कांग्रेस – १३,६९३
• माओवादी केन्द्र – ९,०७०
• रास्वपा – ३,५७९
• राप्रपा – १,२५३

अन्य दलले १ हजार मत पनि ल्याउन सकेका थिएनन् । कांग्रेस–एमालेको परम्परागत भिडन्त, स्वतन्त्र उम्मेदवार महावीर पुनको चर्चित प्रवेश र रास्वपाको सम्भावित प्रभावका कारण म्याग्दीको निर्वाचन यसपटक असाध्यै प्रतिस्पर्धात्मक बन्ने देखिएको छ । अन्तिम अवस्थामा मतदाताको मन कसतर्फ ढल्किन्छ— त्यसैले म्याग्दीको नतिजा तय गर्नेछ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार