NL न्यूज
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेकी छन्। निर्वाचन सारिने, दुई चरणमा हुने वा अन्योल सिर्जना हुने खालका हल्लाप्रति संकेत गर्दै उनले निर्वाचन निर्धारित मितिमै र एकै चरणमा सम्पन्न हुने स्पष्ट पारिन्।
बिहीबार मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीको प्रेस अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियाबारे सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताइन्। ‘ढुक्क र निश्चिन्त हुनुस्। एकै दिनमा हुन्छ चुनाव। दुई चोटि हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
उनले निर्वाचन आयोग, सुरक्षानिकाय र सरकारबीचको समन्वय सशक्त रहेको उल्लेख गर्दै निर्वाचनलाई प्रभावित पार्ने कुनै कारण नरहेको दाबी गरिन्। निर्वाचन पूर्वका हल्ला र आशंकाले जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसप्रति सचेत रहन पनि आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनको दिन देशभरको मौसम समेत अनुकूल रहने विश्वास व्यक्त गरिन्। हिमाली, पहाडी र तराई सबै भूगोलका मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण बन्ने उनको भनाइ थियो। ‘मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ। सबैले सहज रूपमा मतदान गर्न पाउनुहुनेछ,’ उनले भनिन्।
निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सत्ता हस्तान्तरण गरी वर्तमान सरकार आफ्नो दायित्व पूरा गरेर घर फर्किने प्रधानमन्त्री कार्कीको भनाइ थियो। ‘निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गर्छौं र हामी आफ्नो घर जान्छौँ,’ उनले स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा पनि गरिन्। मतपत्र छपाइदेखि ढुवानी, सुरक्षा व्यवस्थासम्म आयोगले जिम्मेवार र पारदर्शी ढंगले काम गरिरहेको उनको भनाइ थियो।
जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइको अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री कार्कीले समयमै मतपत्र छपाइ, प्याकिङ र ढुवानी सम्पन्न हुने विश्वास व्यक्त गरिन्। उनले निर्वाचन सफल बनाउनु लोकतन्त्रको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिन्।





प्रतिक्रिया दिनुहोस्