Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा निर्वाचनका लागि ४ करोडभन्दा बढी मतपत्र छपाइ, २५ जिल्लामा ढुवानी सम्पन्न

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीका लागि हालसम्म ४ करोडभन्दा बढी मतपत्र छपाइ भइसकेको छ।

आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तथा समानुपातिक प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र छपाइ सुरु गरिएको हो। यसक्रममा २०८२ पुस २२ गतेदेखि नमुना मतपत्रसहित करिब १० लाख ८५ हजार मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।

समानुपातिक तर्फको मतपत्र छपाइ २०८२ पुस २६ गतेदेखि सुरु गरिएको आयोगले जनाएको छ। माघ १३ गतेसम्म समानुपातिकतर्फ आवश्यक पर्ने कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ आवश्यक पर्ने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइका लागि २०८२ माघ १६ गतेदेखि प्रक्रिया सुरु गरिएको छ। माघ २२ गते बिहान ६ बजेसम्म विभिन्न क्षेत्रका लागि जम्मा ७२ लाख ६० हजार मतपत्र छपाइ भई ५ हजार ८ सय २५ बाकसमा प्याकिङ गरिएको आयोगले जनाएको छ।

मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेका जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा र सुनसरी रहेका छन्। यी २५ जिल्लामा मतपत्र सुरक्षित रूपमा ढुवानी भइसकेको आयोगले जनाएको छ।

आयोगका अनुसार २०८२ माघ २२ गते बिहान ६ बजेसम्म देशभरका ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने बाँकी क्षेत्रका मतपत्र छपाइ कार्य निरन्तर भइरहेको छ। निर्वाचन आयोगले समयमै मतपत्र छपाइ, प्याकिङ र ढुवानी सम्पन्न गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने तयारीमा कुनै कसर बाँकी नराखिएको जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार