NL न्यूज
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ। पार्टी एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको कांग्रेसले जनाएको छ।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताए। संसद् पुनर्स्थापना लगायतका विषयमा फैलिएका हल्लाप्रति ध्यान नदिन आग्रह गर्दै उनले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित रहेको स्पष्ट पारे।
“हामी चुनावमै विश्वास गर्छौँ। कांग्रेस सम्पूर्ण रूपमा चुनावी प्रणालीमा गइसकेको छ,” चालिसेले भने, “बीचबीचमा भएका भेटघाट, अदालती विषयलाई लिएर ध्यान मोड्ने प्रयासप्रति हाम्रो कुनै टिप्पणी छैन।” निर्वाचन अवधिभर कुनै किसिमको गठबन्धन नहुने दोहोर्याउँदै उनले कांग्रेस आफ्नै बलमा चुनाव लड्ने बताए। “चुनावपूर्व हाम्रो कसैसँग गठबन्धन हुँदैन। हामी प्रचारमा लागिसकेका छौँ र विजयतर्फ उन्मुख हुँदैछौँ,” उनले भने।
प्रवक्ता चालिसेले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे।
कांग्रेसभित्रका आन्तरिक विवाद समाधान भइसकेको दाबी गर्दै उनले पार्टीका नेता–कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा होमिएको बताए। “पार्टीभित्रका देशभरका समस्या मिलिसकेका छन्। चुनावमा सबैभन्दा ठूलो शक्ति भनेकै पार्टीभित्रको एकता हो,” उनले भने।
उनका अनुसार निर्वाचन प्रचारका क्रममा अन्य दलका नेता–कार्यकर्ता कांग्रेसमा आवद्ध हुने क्रम बढेको छ, जसले कांग्रेसको विजयको आधार मजबुत हुँदै गएको संकेत गरेको छ।
यसैबीच, कांग्रेसले निर्वाचनकै क्रममा केही दलका तर्फबाट आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ। विशेषगरी बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरिएको भन्दै त्यसले राम्रो सन्देश नदिने र बालअधिकारको उल्लंघन हुने प्रवक्ता चालिसेको भनाइ थियो।





प्रतिक्रिया दिनुहोस्