Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप अभ्यास खेलमा क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

चेन्नई। आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो अभ्यास खेलमा क्यानडाले नेपालसामु जितका लागि १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। चेन्नईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनायो।

क्यानडाको सुरुवात अपेक्षित रहन सकेन। चौथो ओभरमा युवराज शर्मा १५ बलमा ७ रन बनाउँदै सोमपाल कामीको बलमा आउट भए। त्यसपछि नवनित धलिवाल र कनवरपाल ताथगुरले पारी सम्हाल्दै स्कोर अघि बढाए। धलिवालले ३६ बल खेल्दै ४१ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे। कनवरपालले २४ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण योगदान दिए। निकोलस किर्तन १० रनमा कुशल भुर्तेलको बलमा आउट भए भने हर्ष थाकेर ८ रन बनाउँदै पभेलियन फर्किए।

पारीको अन्त्यतिर विकेटकिपर श्रेयस मोभाले आक्रामक ब्याटिङ गरे। उनले १९ बलमा ३८ रन बनाउँदै २ चौका र ३ छक्का प्रहार गरे। जसकरन सिंहले पनि ११ बलमा २१ रन जोड्दै मोभालाई राम्रो साथ दिए। सिंहले ३ छक्का प्रहार गरे।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए। कुशल भुर्तेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट लिए। यसअघि, चेन्नईमै भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार