Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सप्तरी–२ : उपेन्द्रले निर्वाचन क्षेत्र फेर्दा सीके राउतलाई फाइदा कि आफ्नै पूर्व सहकर्मीबाट खतरा ?

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक चहलपहल तीव्र बनेको छ । यो क्षेत्रमा विभिन्न राजनीतिक दलका २० र १४ स्वतन्त्र गरी ३४ उम्मेदवार मैदानमा रहेका छन् । रोचक के छ भने यसपटक जनमत पार्टीका अध्यक्ष सीके राउत र उनैले पार्टीमा भित्र्याएर प्रदेश सांसद हुँदै मुख्यमन्त्री बनाएका सतिशकुमार सिंह पनि आमने-सामने भएका छन् । यो क्षेत्र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव मतदाता रहेको क्षेत्र हो । अघिल्लो निर्वाचनमा पराजय व्यहोरेका उपेन्द्रले यसपटक क्षेत्र फेरेका छन् ।

म्मेदवारको संख्या र चर्चित अनुहारको सम्भावित प्रवेशका कारण सप्तरी–२ लाई जिल्लाकै सबैभन्दा रोचक निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ । यहाँ मधेश केन्द्रित दल र पुराना कांग्रेस-एमाले जस्ता दलहरु पनि भिडन्तमा छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार नयाँ दलदेखि स्थापित दलसम्मका उम्मेदवार चुनावी मैदानमा उत्रिँदा यहाँ मत विभाजन र गठबन्धनविहीन प्रतिस्पर्धा निर्णायक बन्ने देखिन्छ ।

को–को छन् उम्मेदवार ?
जनमत पार्टी- सीके राउत
स्वाभिमान पार्टी- सतिशकुमार सिंह
नेकपा एमाले- मोहम्मद जियाउल रहमान
नेपाली कांग्रेस- रामकुमार यादव
नेपाली कम्युनिष्ट पार्टी- सूर्यनाथप्रसाद यादव
राष्ट्रिय स्वतन्त्र पार्टी- रामजी यादव
राष्ट्रिय प्रजातन्त्र पार्टी- अजयकुमार दास
जनता समाजवादी पार्टी नेपाल- उमेशकुमार यादव
लगायत विभिन्न राजनीतिक दलहरु नेपाल मजदुर किसान पार्टी, उज्यालो नेपाल पार्टी, आम जनता पार्टी लगायतले उम्मेदवारी दिएका छन् ।

मुख्य प्रतिस्पर्धा को–को बीच ?
हालसम्मको अवस्था हेर्दा सप्तरी–२ मा मुख्य प्रतिस्पर्धा पुराना राजनीतिक दलहरु कांग्रेस, एमाले, नेकपा, जसपा नेपाल मैदानमा उत्रिंदा जित दोहोर्‍याउने दाउमा जनमत पार्टीका सीके राउत रहेका छन् । तर, उनलाई जनमत छाडेर गएका सतिश भारी पर्न सक्छन् । नयाँको खोजी भइरहँदा रास्वपा पनि बलियो दाबेदारका रुपमा देखा परेको छ । सप्तरी–२ मा उम्मेदवार संख्या धेरै भएकाले मत विभाजन ठूलो चुनौती बन्ने देखिन्छ । एउटै समुदाय, उस्तै एजेन्डा बोकेका उम्मेदवारहरूबीच मत बाँडिँदा थोरै मतान्तरले नतिजा पल्टिन सक्ने अवस्था छ । विशेष गरी स्वतन्त्र र साना दलका उम्मेदवारले निर्णायक भूमिका खेल्न सक्ने आँकलन गरिएको छ । यसपटक अघिल्लो २०७९ को निर्वाचनभन्दा १०,५२८ मत दाता थपिदै १,०५,९२२ मतदाता पुगेका छन् । २०७९ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा कुल मतदाता ९५,३९४ थिए ।

२०७९ सालको आमनिर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा कसको कति मत थियो त ?
प्रत्यक्षतर्फ

सीके राउत- जनमत- ३५०४२ (विजयी)
उपेन्द्र यादव- जसपा नेपाल- १६,९७९
जयप्रकाश ठाकुर- लोसपा- ७,३४७
बरुणकुमार झा- रास्वपा- २८१
अन्य उम्मेदवारले २ सय ५० मत पनि कटाउन सकेका थिएनन् । यहाँ एमालेले उपेन्द्र यादवलाई साथ दिएको थियो भने कांग्रेस-माओवादी गठबन्धनले लोसपाका जयप्रकाश ठाकुरलाई समर्थन गरेको थियो ।

समानुपातिकतर्फ
जनमत- २९,८०२ मत
जसपा नेपाल- १४,०९५ मत
लोसपा- ५,१४९ मत
माओवादी केन्द्र- ४,३९८ मत
कांग्रेस- २,६१६ मत
एमाले- १,२४५ मत
एकीकृत समाजवादी- १,२३१ मत

अन्य दलले १ हजार मत पनि कटाउन सकेका थिएनन् । यसपटकको निर्वाचनमा रोचक के छ भने जसपा नेपाल र लोसपा एकीकरण भएको छ । त्यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादी पनि एकीकृत भएका छन् । जनमत चोइटिएको छ भने अरु दलको खासै हिसाव-किताव देखिदैन ।

धेरै उम्मेदवार, चर्चित नेताको सम्भावित उम्मेदवारी र नयाँ–पुराना दलको भिडन्तले सप्तरी–२ को निर्वाचन अत्यन्तै प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ । अन्तिम समयमा को उम्मेदवार मैदानमा उत्रिन्छन् र गठबन्धनबिनाको यो चुनावमा मतदाताको मन कता ढल्किन्छ — त्यसले सप्तरी–२ को नतिजा तय गर्नेछ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार