Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सप्तरी-३ मा उपेन्द्रलाई काकाभतिजको चुनौती, जित्ने सम्भावना कसको कति ?

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढ्दै गएको छ । यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १४ जना र ८ स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । मतदाता संख्या वृद्धि, नयाँ–पुराना दलको भिडन्त र मधेश केन्द्रित दलको प्रभावका कारण सप्तरी–३ लाई यसपटक पनि चासोका साथ हेरिएको छ । अघिल्लो निर्वाचनमा क्षेत्र नं. २ रोजेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पराजय भोग्नुपरेको थियो । पछि बारा २ को उपनिर्वाचनबाट संसद प्रवेश गरेका थिए । अहिले क्षेत्र नै फेरेर सप्तरी ३ मा यादव पुगेका छन् ।

यस निर्वाचन क्षेत्रमा यसपटक १ लाख ११ हजार ८७१ मतदाता रहेका छन् । अघिल्लो २०७९ सालको आमनिर्वाचनमा यहाँ १ लाख ४ हजार ८९२ मतदाता थिए । पाँच वर्षमा करिब ६,९७९ मतदाता थपिनु ले परिणाममा प्रभाव पार्ने अनुमान गरिएको छ ।

को–को छन् उम्मेदवार ?
ताराकान्त चौधरी — नेकपा एमाले
दिनेशकुमार यादव — नेपाली कांग्रेस
अरुणकुमार साह — नेपाली कम्युनिष्ट पार्टी
अमरकान्त चौधरी — राष्ट्रिय स्वतन्त्र पार्टी
उम्देश्वरप्रसाद साहु — राष्ट्रिय प्रजातन्त्र पार्टी
उपेन्द्र यादव — जनता समाजवादी पार्टी नेपाल
सुरेन्द्रप्रसाद शर्मा — जनमत पार्टी
यीसहित १४ राजनीतिक दल र ८ स्वतन्त्र उम्मेदवार गरी २२ जना प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन् ।

इतिहासमा सप्तरी–३ को निर्वाचन : कसको वर्चश्व ?
सप्तरी–३ लाई ऐतिहासिक रूपमा हेर्दा यहाँ कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको देखिन्छ । तर पछिल्लो निर्वाचनदेखि मधेश केन्द्रित दल र नयाँ राजनीतिक शक्तिले पनि उल्लेख्य प्रभाव देखाउन थालेका छन् ।

२०७९ सालको आमनिर्वाचन (प्रत्यक्षतर्फ)
दिनेशकुमार यादव (कांग्रेस) — २६,१६६ मत (विजयी)
ताराकान्त चौधरी (एमाले) — २२,३०० मत
अनिश अंसारी (जनमत) — १५,११४ मत
लक्ष्मीकान्त मण्डल (लोसपा) — ८७२ मत
यी बाहेकका उम्मेदवारले ५ सय मत पनि कटाउन सकेका थिएनन् । यस नतिजाले कांग्रेसको पकड देखाए पनि जनमत पार्टीको उदयले पुराना दललाई चुनौती दिएको संकेत देखिएको थियो ।

समानुपातिकतर्फ कसको कति मत ?
२०७९ सालको समानुपातिक मत परिणामले सप्तरी–३ मा त्रिकोणात्मक प्रतिस्पर्धा देखाएको थियो—
जनमत पार्टी — १८,३४० मत
नेपाली कांग्रेस — १८,२४९ मत
जसपा नेपाल — १०,१५३ मत
नेकपा एमाले — ९,५९४ मत
नागरिक उन्मुक्ति पार्टी — ३,१८३ मत
लोसपा — १,६४६ मत
एकीकृत समाजवादी — १,२२२ मत
यो परिणामले कांग्रेस, जनमत र जसपा नेपालबीचको आधार करिब–करिब समान रहेको देखाउँछ ।

मुख्य प्रतिस्पर्धा को–को बीच ?
हालको अवस्थालाई हेर्दा सप्तरी–३ मा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले, जनमत पार्टी र जसपा नेपाल बीच केन्द्रित हुने देखिन्छ ।
कांग्रेस अघिल्लो जित दोहोर्‍याउने रणनीतिमा छ ।
एमाले झिनो मतान्तरको हारलाई पल्ट्याउने तयारीमा देखिन्छ ।
जनमत पार्टी ले समानुपातिक मतको आधारमा आफू बलियो दाबेदार रहेको दाबी गरिरहेको छ ।
जसपा नेपाल का अध्यक्ष उपेन्द्र यादव स्वयं मैदानमा उत्रिएकाले मधेश केन्द्रित मत आकर्षित हुन सक्ने आँकलन छ ।
रास्वपा ले नयाँ मतदाता र वैकल्पिक राजनीतिक खोजी गर्ने वर्गलाई लक्षित गरेको छ ।

धेरै उम्मेदवार, मत विभाजन निर्णायक
२२ उम्मेदवार मैदानमा हुँदा सप्तरी–३ मा मत विभाजन निर्णायक बन्ने देखिन्छ । पटक-पटक सांसद र मन्त्री बनिसकेका जसपा नेपालका अध्यक्ष यादवलाई सहज देखिदैन । ४० वर्ष आसपास रहेका युवासँग प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । ति बाहेक उस्तै मताधार भएका दल र उम्मेदवारबीच मत बाँडिँदा थोरै मतान्तरले नतिजा उल्टिन सक्ने अवस्था छ । स्वतन्त्र उम्मेदवार र साना दलले पनि जित–हारको गणित बिगार्न सक्ने भूमिका खेल्न सक्छन् ।
मतदाता संख्या वृद्धि, कांग्रेस–एमालेको पुरानो प्रतिस्पर्धा, जनमत र जसपा नेपालको उदय तथा नयाँ दलको उपस्थितिले सप्तरी–३ को निर्वाचन अत्यन्तै प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ । इतिहास दोहोरिन्छ कि नयाँ शक्ति स्थापित हुन्छ — त्यसको फैसला यसपटक मतदाताको मनले गर्नेछ ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार