Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन आयोग र टिकटकबीच के–केमा सहकार्य भयो?

भ्रामक सूचना नियन्त्रणका लागि टिकटक–निर्वाचन आयोग समझदारी

काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्न निर्वाचन आयोग नेपाल र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच औपचारिक सहकार्य सुरु भएको छ। माघ २१ गते आयोग परिसरमा दुवै पक्षबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको हो।

समझदारीपत्र आदान–प्रदानपछि टिकटकले निर्वाचन आयोगका पदाधिकारीहरूका लागि निर्वाचन नैतिकतासम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको छ। कार्यशालामा जिम्मेवार डिजिटल सहभागिता, भ्रामक सूचनाको पहिचान तथा नियन्त्रण, र निर्वाचनको गरिमा जोगाउने विषयमा केन्द्रित छलफल गरिएको थियो।

टिकटकले आफ्नो प्लेटफर्ममार्फत निर्वाचन प्रक्रियाको संरक्षण कसरी गरिन्छ भन्नेबारे आयोगलाई जानकारी गराएको छ। यस क्रममा सामुदायिक निर्देशिका, राजनीतिक सामग्रीसम्बन्धी नीति, भ्रामक सूचना (misinformation) तथा गलत व्यवहार नियन्त्रण गर्ने संयन्त्रबारे प्रस्तुति दिइएको थियो। प्रयोगकर्ताले विश्वसनीय सूचना कसरी पाउन सक्छन्, उल्लङ्घन कसरी रिपोर्ट गर्न सकिन्छ र निर्वाचनसम्बन्धी सामग्री कसरी व्यवस्थापन हुन्छ भन्नेबारे पनि जानकारी गराइएको छ।

टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्तकिनले लोकतन्त्रका लागि निर्वाचन अत्यन्त संवेदनशील क्षण हुने भएकाले प्लेटफर्मको जिम्मेवारी गम्भीर रहेको बताए। उनले सचेत डिजिटल सहभागिता प्रवर्द्धन, निर्वाचनको निष्पक्षता सुदृढीकरण र सुरक्षित डिजिटल वातावरण निर्माण सहकार्यको मुख्य लक्ष्य भएको उल्लेख गरे।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग आजको आवश्यकता भएको भन्दै टिकटकसँगको सहकार्यलाई सकारात्मक कदमका रूपमा व्याख्या गरे। उनका अनुसार यसले भ्रामक सूचनाविरुद्ध सचेतना बढाउन र निर्वाचन प्रक्रियामा जिम्मेवार सहभागिता सुनिश्चित गर्न सहयोग पुग्नेछ।

सहमतित्रपमा समेटिएका मुख्य बुँदाहरू 
१. समझदारीपत्र अनुसार निर्वाचन आयोग र टिकटकबीच निम्न विषयमा सहकार्य हुनेछः
२. निर्वाचन अवधिमा जिम्मेवार र मर्यादित डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने।
३. झुट्टा, भ्रम सिर्जना गर्ने वा निर्वाचनलाई प्रभावित पार्ने सामग्री पहिचान र न्यूनीकरणमा सहकार्य।
४. निर्वाचन आयोगका पदाधिकारी तथा सरोकारवालालाई डिजिटल प्लेटफर्मसम्बन्धी तालिम र कार्यशाला प्रदान गर्ने।
५. राजनीतिक सामग्री, प्रचार–प्रसार र सम्भावित उल्लङ्घनबारे टिकटकका नीति र प्रक्रिया स्पष्ट गर्ने।
६. प्रयोगकर्तालाई विश्वसनीय सूचना पहुँच, रिपोर्टिङ उपकरण र निर्वाचनसम्बन्धी सामग्रीबारे सचेत बनाउने।
७. निर्वाचन अवधिभर स्वस्थ प्रतिस्पर्धा र सकारात्मक अभिव्यक्तिका लागि सुरक्षित प्लेटफर्म सुनिश्चित गर्ने।
८. निर्वाचन अवधिभर आयोग, टिकटक र अन्य सरोकारवालाबीच नियमित संवाद र सहकार्य।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार