Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ओलीमाथि गालीगलौज र भ्रामक प्रचारप्रति एमालेको आपत्ति, तत्काल रोक्न माग

एमालेविरुद्ध कलाकारहरूले भ्रम फैलाएको भन्दै कारबाहीको चेतावनी

काठमाडौं। नेकपा (एमाले) ले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रविधिको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारविरुद्ध भ्रम फैलाउने, गलत सूचना प्रवाह गर्ने र अमर्यादित सामग्री प्रसारण गर्ने कार्य बढेको भन्दै पार्टीले त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ।

आम चुनावका लागि पार्टी प्रेस संयोजकसमेत रहेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल र डिजिटल प्रविधिको गैर-जिम्मेवार प्रयोगप्रति एमालेको ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा राजनीतिक दल, उम्मेदवार र निर्वाचन चिन्हलाई लक्षित गरी योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरिएको छ।

एमालेले केही कलाकार र व्यक्तिहरूको प्रयोग गरी पार्टी नेतृत्व, नीति तथा निर्वाचन चिन्हमाथि आक्रमण गर्ने सामग्री बनाइएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएको छ। निर्वाचन चिन्ह परिवर्तन भएको जस्तो देखिने भ्रामक सामग्री तयार गरी सार्वजनिक गर्ने कार्यलाई गम्भीर अपराधका रूपमा लिइने स्पष्ट पारिएको छ।

विज्ञप्तिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गरिएका गालीगलौज, असभ्य र अमर्यादित टिप्पणीप्रति पनि आपत्ति जनाइएको छ। व्यक्तिगत मर्यादा र अभिव्यक्तिको सीमाभन्दा बाहिर गएर प्रसारण गरिएका सामग्रीले राजनीतिक संस्कृतिलाई नै कमजोर बनाएको एमालेको ठहर छ। यस्ता गतिविधिमा संलग्न कलाकार, सामाजिक सञ्जाल प्रयोगकर्ता वा अन्य जो–कोही भए पनि कानुनी दायरामा ल्याइने चेतावनी पार्टीले दिएको छ।

यसैबीच, शाहीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरिसकेको जानकारी दिएका छन्। कर्णाली प्रदेशको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको र मनाङमा भने प्राविधिक कारणले उम्मेदवारी दर्ता हुन नसकेको उनले स्पष्ट पारे। एमालेले चुनावी अभियानको क्रममा सामाजिक सञ्जाललाई मर्यादित, जिम्मेवार र तथ्यमा आधारित बनाइनुपर्नेमा जोड दिँदै आएको छ।
 

uml-bigyapti-1-1770194984.jpeg

uml-bigyapti-2-1770194984.jpeg

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार