NL न्यूज
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगलागीबाट ७ जनालाई सकुशल उद्धार गरिएको छ भने २४ परिवार विस्थापित भएका छन् ।
मंगलबार राति करिब पौने ११ बजेतिर सुरु भएको आगो सवा १ बजेतिर काठमाडौैं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
वडा अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार आगलागीबाट २४ कोठा बराबरको लामो टहरा पूर्णरूपमा नष्ट भएको छ । उनका अनुसार त्यहाँ बसोबास गर्दै आएका २४ परिवार बिस्थापित भएका छन् ।
विस्थापित परिवारहरूलाई नजिकैका अन्य टहराहरूमा अस्थायी रूपमा बसोबास गराइएको छ । उनीहरूका लागि आज खाद्यान्न, लत्ताकपडा लगायत आवश्यक राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।
आगलागी विद्युत सर्ट भएर भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । आज प्रहरीसहित मुचुल्का उठाई क्षतिको यकिन विवरण तयार गरिने वडाध्यक्ष श्रेष्ठले बताए ।





प्रतिक्रिया दिनुहोस्