Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?

टोकियो (जापान) । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका प्रधानमन्त्री तकाइची सनायबीच टोकियोमा शिष्टाचार भेट भएको छ। जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री सनायले आज भेटवार्ता गरेका हुन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध निरन्तर निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस सम्बन्ध र सहकार्यलाई अझ सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताए।

जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीप्रति आभार व्यक्त गर्दै राष्ट्रपति पौडेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी उनका प्रेस सल्लाहकार किरण पोखरेलले दिए।

राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणहरूको आदान–प्रदानले सम्बन्धलाई अझ बलियो बनाउने बताए।

नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले द्विपक्षीय व्यापार विस्तार र विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने पर्याप्त सम्भावना रहेको बताए। नेपालले व्यापार सहज बनाउने, विदेशी लगानी आकर्षित गर्ने र नवप्रवर्तन प्रवर्द्धनका लागि कानुनी, प्रक्रियागत तथा संस्थागत सुधार अघि बढाइसकेको उनको भनाइ थियो।

जापानबाट प्राप्त अनुदान, ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुगेको राष्ट्रपति पौडेलले बताए। नेपाल अति कम विकसित राष्ट्रको श्रेणीबाट स्तरोन्नति हुने क्रममा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जापानबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे।

विश्व शान्ति, स्थायित्व र भाइचाराको पक्षमा बुद्धको दर्शनमा विश्वास गर्ने दुबै देशका लागि बुद्ध जन्मभूमि लुम्बिनीले जनस्तरमा सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति पौडेलको भनाइ थियो। उनले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको सफलताको शुभकामना पनि व्यक्त गरे।

भेटका क्रममा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापान तथा समग्र क्षेत्रका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताए। उनले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने जानकारी पनि दिएका छन्।

प्रधानमन्त्री सनायले नेपाल र जापान लामो समयदेखि घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थी तथा जापानी नागरिकको नेपाल भ्रमण, विशेषगरी हिमाल आरोहणजस्ता गतिविधिले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुँदै गएको बताए। साथै, सूचना प्रविधि र लोकतन्त्र सुदृढीकरणका क्षेत्रमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार टोकियो आइपुगेका हुन्। भ्रमणका क्रममा उनले जापानी व्यापारिक समुदायलाई सम्बोधन गर्नुका साथै परराष्ट्र राज्यमन्त्री होरी इवाओसँग पनि शिष्टाचार भेट गरेका थिए।

यसै क्रममा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग पनि राजकीय शिष्टाचार भेट गरेका छन्। चारदिने औपचारिक भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार