Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कञ्चनपुर १ को अनौठो विशेषता, दोहोरिएर जितेको छैन रेकर्ड, यस पटक तारा फेरि चम्किएलान् ?

कञ्चनपुर । कञ्चनपुर जिल्लाको एउटा अनौठो राजनीतिक विशेषता छ । यहाँ एक पटक निर्वाचित भएको दलले लगत्तैको चुनाव प्रायः जित्दैन। त्यस्तै, अपवादबाहेक कुनै पनि नेता लगातार निर्वाचित हुन सकेका छैनन् । २०४८ सालयताका अधिकांश निर्वाचनले यही प्रवृत्तिलाई दोहोर्‍याएका छन् ।

दल बदल्ने कञ्चनपुरे मतदाता
२०४८ सालदेखि कञ्चनपुरमा कायम रहेका सबै निर्वाचन क्षेत्रहरूमा प्रायः एकै निर्वाचनमा एउटै दलले ‘क्लिनस्विप’ गर्ने र अर्को चुनावमा पूर्ण रूपमा विस्थापित हुने क्रम दोहोरिँदै आएको छ।
२०४८ : दुवै क्षेत्रमा नेपाली कांग्रेस विजयी
२०५१ : तीनै क्षेत्रमा नेकपा (एमाले) को क्लिनस्विप
२०५६ : कांग्रेसको पुनरागमन, तीनै क्षेत्रमा विजय
२०६४ : नेकपा (माओवादी) को उदय, क्लिनस्विप
२०७० : चारै क्षेत्रमा जित कांग्रेसलको जित
२०७४ : वाम गठबन्धन—२ र ३ मा एमाले, १ मा माओवादी
२०७९ : २ र ३ मा कांग्रेस, १ मा एमाले
गठबन्धन संस्कृतिको प्रवेशअघि मतदाता निर्णय स्पष्ट र सामूहिक देखिन्थ्यो। गठबन्धनपछि मात्रै कञ्चनपुरमा मिश्रित परिणाम देखिन थालेका हुन्।
कञ्चनपुर–१ : जहाँ कोही दोहोरिएको छैन
यी सबैमध्ये कञ्चनपुर–१ सबैभन्दा रोचक क्षेत्र हो । यहाँ अहिलेसम्म प्रतिनिधिसभामा कुनै पनि नेता दोहोरिएका छैन, न त कुनै पार्टीले लगातार दुई निर्वाचन जितेको रेकर्ड छ।
२०४८ : वासुदेव भट्ट (कांग्रेस)
२०५१ : रामकुमार ज्ञवाली (एमाले)
२०५६ : एनपी साउद (कांग्रेस)
२०६४ : पुरन रानाथारु (माओवादी)
२०७० : दिवानसिंह विष्ट (कांग्रेस)
२०७४ : वीना मगर (माओवादी केन्द्र)
२०७९ : तारा लामा तामाङ (एमाले)
इतिहासले निरन्तर ‘नो रिपिट’को सन्देश दिइरहँदा २०८२ को चुनावले यही रेकर्ड तोड्ला कि नतोड्ला त ?

मैदानमा तीन बलिया अनुहार
तारा लामा तामाङ (एमाले) : निरन्तरताको दाबी

निवर्तमान सांसद तारा लामा तामाङले अधुरा आयोजनालाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। दोदा नदी नियन्त्रण, आरक्ष पीडित, अव्यवस्थित बसोबासी, सीमा समस्या र बोर्डर करिडोर उनका प्रमुख मुद्दा हुन्। २०७९ मा गठबन्धनलाई हराएर जित निकालेका लामा २०५४ मा गाविस अध्यक्षदेखि प्रदेश मन्त्री हुँदै प्रतिनिधिसभा सांसद बनेका अनुभवी नेता हुन् । इतिहासले अस्वीकार गरेको ‘दोहोरिने’ सम्भावनालाई व्यवहारिक कामका आधारमा चुनौती दिने उनको रणनीति देखिन्छ ।

वीना मगर (नेकपा) : विरासत र अधुरा परियोजना
पूर्वमन्त्री तथा पूर्वसांसद वीना मगर आफूले सुरु गरेका योजना अधुरा रहेको बताउँदै पुनः मत मागिरहेकी छन् । दोदा नदी तटबन्ध, स्वास्थ्य संस्था, शिक्षा, पर्यटकीय क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटन ट्रयाक उनका प्रमुख एजेन्डा हुन् । प्रचण्ड परिवारको राजनीतिक विरासत बोकेकी मगरको यो प्रतिनिधिसभामा फर्किने चौथो प्रयास हो।

गोपीप्रसाद उपाध्याय (कांग्रेस) : ‘हुटहुटी’को राजनीति
विद्यार्थी आन्दोलनबाट आएका गोपी उपाध्याय आफू कुनै पदमा नहुँदा पनि सामाजिक काममा सक्रिय रहेको दाबी गर्छन् । आरक्ष पीडित, थारु समुदाय, दलित र सुकुम्बासीका स–साना समस्या समाधानलाई उनले मुख्य राजनीतिक पूँजी बनाएका छन्। स्थानीय तहमा कांग्रेसको बलियो उपस्थिति उनको मुख्य आधार हो।

अंकगणित र संरचना
२०७९ परिणाम : तारा लामा २४,९४३ विजयी | वीना मगर १९,४०० पराजित
समानुपातिक (२०७९) : एमाले १७,९५४ | कांग्रेस १४,८०६ | माओवादी ९,६७७
स्थानीय तह
बेलडाँडी : कांग्रेस
पुनर्वास : कांग्रेस
बेलौरी : प्रमुख माओवादी, उपप्रमुख एमाले
लालझाडी : एमाले
निर्णायक मत : थारु समुदाय
मिश्रित बसोबास भए पनि कञ्चनपुर–१ मा थारु मत निर्णायक मानिन्छ। जसले यो समुदायको विश्वास जित्न सक्छ, उसैले चुनाव जित्ने सम्भावना बलियो छ। इतिहास भन्छ—कञ्चनपुर–१ मा दोहोरिँदैन। तर वर्तमान चुनावी समीकरण भन्छ—यसपटक अपवाद सम्भव छ। प्रश्न एउटै छ : मतदाताले फेरि इतिहास दोहोर्‍याउने कि नयाँ इतिहास लेख्ने?
000

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार