Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कञ्चनपुर–२ : एनपी साउदलाई रोक्ने दीपक बोहराको दाउ, एमालेले बिर्सेको छैन २०७९ को घाउ

कञ्चनपुर । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । संख्यात्मक रूपमा हेर्दा भीड ठूलो देखिए पनि वास्तविक प्रतिस्पर्धा भने मुख्य पाँच दल र केही स्वतन्त्र उम्मेदवारबीच सीमित देखिन्छ । यो क्षेत्र दलगत संगठन, स्थानीय तहको शक्ति सन्तुलन र अघिल्लो निर्वाचनको मतपरिणामका आधारमा अत्यन्त संवेदनशील मानिन्छ ।

मुख्य उम्मेदवार र उनीहरूको पृष्ठभूमि
नेकपा (एमाले) – बचनबहादुर सिंह

एमालेका उम्मेदवार सिंह पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन् । कञ्चनपुरमा एमालेको स्थायी मताधार, विशेषगरी शुक्लाफाँटा नगरपालिकामा पार्टीको पकड, सिंहका लागि मुख्य बल हो । यद्यपि २०७९ को समानुपातिक मतमा कांग्रेसभन्दा एमाले पछाडि परेको तथ्यले उनलाई सजिलो अवस्था भने छैन । गत चुनावमा नरबहादुर धामी २१ हजार ६ सय ८२ मत ल्याएर पराजित भएका थिए ।

नेपाली कांग्रेस – एनपी साउद
कांग्रेसका उम्मेदवार एनपी साउद क्षेत्रमै परिचित र अनुभवी राजनीतिक व्यक्तित्व मानिन्छन् । स्थानीय तहमा कांग्रेसको बलियो उपस्थिति—कृष्णपुर र बेदकोट नगरपालिकामा प्रमुख–उपप्रमुख जितेको तथ्य—साउदको मुख्य आधार हो । समानुपातिक मतमा कांग्रेसले सबै दलभन्दा बढी मत ल्याएको इतिहासले पनि उनलाई बलियो उम्मेदवारको रूपमा उभ्याएको छ। गत चुनावमा उनले २८ हजार १ सय ३६ मत ल्याउँदै जित निकालेका थिए ।

नेकपा – माधवप्रसाद पन्त
माधवप्रसाद पन्त वामपन्थी राजनीतिमा पुरानो अनुहार हुन्। तर पार्टी संगठन कमजोर हुनु र विगतको समानुपातिक मत न्यून हुनु उनको चुनौती हो। उनी ‘विकल्प वाम’ खोज्ने मतदातालाई आकर्षित गर्न प्रयासरत छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी – दीपक बोहरा
दीपक बोहरा नयाँ पुस्ता र परिवर्तनको राजनीतिलाई प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा प्रस्तुत छन् । २०७९ मा रास्वपाले यो क्षेत्रमा उल्लेख्य समानुपातिक मत ल्याएको भए पनि प्रत्यक्षतर्फ कमजोर देखिएको थियो । बोहराको शक्ति शहरी र शिक्षित मतदातामा केन्द्रित देखिन्छ। बोहरा सभापति रवि लामिछाने निकट मानिन्छन्। चुनावी प्रचारका लागि जनताको घरदैलोमा पुगिरहेका उनले बालेनको भ्रमणपछि रास्वपाको माहोल बढेको बताएका छन् । बोहराले आफ्नो मुख्य एजेन्डा भ्रष्टाचार नियन्त्रण र सुशासन भएको बताए। लालपुर्जा वितरण यस क्षेत्रमा मुख्य समस्या भएको उनले बताए। २०७९ मा यस क्षेत्रमा रास्वपा तेस्रो भएको थियो। त्यतिबेला झङ्कारराज जोशीले ४ हजार ९३७ मत पाएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी – तीर्थराज चटौत
चटौत परम्परागत राप्रपा मतदाताको प्रतिनिधि हुन्। हिन्दू राष्ट्र, राजसंस्था जस्ता मुद्दाले केही मत तान्ने सम्भावना भए पनि निर्णायक तहमा पुग्न राप्रपाको संगठनात्मक शक्ति अझै कमजोर देखिन्छ।

स्वतन्त्र उम्मेदवार : असर कति?
चार जना स्वतन्त्र उम्मेदवार मैदानमा छन्। उनीहरूले जित निकाल्ने सम्भावना कम देखिए पनि, ठूला दलका परम्परागत मत काट्ने भूमिकामा भने निर्णायक हुन सक्छन्—विशेषगरी कांग्रेस र एमालेका असन्तुष्ट मतदातालाई तान्ने सम्भावना छ।

मतदाता संख्या र अघिल्लो परिणामको संकेत
यसपटक कञ्चनपुर–२ मा १ लाख ९ हजार ५ सय ७४ जना मतदाता छन्। २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । समानुपातिक मतमा कांग्रेस अगाडि थियो। यसले देखाउँछ कि क्षेत्र स्थायी रूपमा कुनै एक दलको पकडमा छैन।

स्थानीय तहको परिणाम हेर्दा—
कृष्णपुर : प्रमुख–उपप्रमुख कांग्रेस
शुक्लाफाँटा : प्रमुख एमाले, उपप्रमुख कांग्रेस
वेदकोट : प्रमुख–उपप्रमुख कांग्रेस
यसले कांग्रेसलाई स्थानीय तहको संरचनात्मक फाइदा दिएको छ भने एमालेले संगठित क्याडर र अनुशासित मतदातामार्फत प्रतिस्पर्धा गरिरहेको देखिन्छ।

को कति बलियो?
कांग्रेस : स्थानीय तह र समानुपातिक मतको आधारमा अलिकति अगाडि
एमाले : संगठित कार्यकर्ता र स्थायी मताधारका कारण कडा प्रतिस्पर्धी
रास्वपा : तेस्रो शक्ति, तर निर्णायक बन्न कठिन

अन्य दल/स्वतन्त्र : मत विभाजन गर्ने भूमिका
कञ्चनपुर–२ को चुनाव स्पष्ट कांग्रेस र एमाले र रास्वपाबीच केन्द्रित देखिन्छ। परिणाम मतदाताको उपस्थितिदर, अन्तिम घडीको गठजोड र असन्तुष्ट मत कुन दिशामा जान्छ भन्ने कुराले तय गर्नेछ। यही कारण कञ्चनपुर–२ लाई यसपटक पनि ‘हाइ–भोल्टेज’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ। 000

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार