NL न्यूज
टोकियो । जापानका सम्राट नारुहितोले नेपालसँगको सम्बन्धलाई आत्मीय, ऐतिहासिक र भावनात्मक रूपमा नजिक रहेको बताउँदै नेपाल भ्रमणका स्मृतिहरू अझै ताजा रहेको उल्लेख गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग इम्पेरियल प्यालेसमा भएको शीष्टाचार भेटका क्रममा सम्राट नारुहितोले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई उत्साहपूर्वक मनाउनुपर्ने धारणा व्यक्त गरे ।
सम्राट नारुहितोले सन् १९८७ मा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै पोखराको सराङ्कोटमा पदयात्रा गर्दा महिलाहरूले खानेपानीका लागि गाग्री बोकेर हिँडेको दृश्यले आफूलाई गहिरो प्रभाव पारेको बताए। सोही अनुभवले पानी र जलस्रोतसम्बन्धी अध्ययनतर्फ आफूलाई प्रेरित गरेको उनको भनाइ थियो।
उनले प्राकृतिक विपद्का समयमा नेपाल र जापानले एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि जापानले नेपाललाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए।
सम्राट नारुहितोले नेपाल–जापान सम्बन्ध सुदृढीकरणमा राष्ट्रपति रामचन्द्र पौडेलले पुर्याएको योगदानको प्रशंसा गर्दै जापान सरकारले उनलाई सम्मान प्रदान गरेको स्मरण गरे। दुई देशबीचको मित्रता केवल कूटनीतिक सम्बन्धमा सीमित नभई जनस्तरमा समेत गहिरो रहेको उनको भनाइ थियो।
नेपालप्रति आत्मीयता व्यक्त गर्दै सम्राट नारुहितोले हिमाल, संस्कृति र नेपाली जनताको सरल जीवनशैलीले आफूलाई सधैं आकर्षित गर्ने गरेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकारले जानकारी दिएका छन्।





प्रतिक्रिया दिनुहोस्