Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रपति पौडेलले सम्झाए जापानी सम्राट नारुहितोको सन् १९८७ मा भएको नेपाल भ्रमण

जापान । राष्ट्रपति रामचन्द्र पौडेलले जापानका सम्राट नारुहितोसँगको भेटमा नेपाल–जापान सम्बन्धको ऐतिहासिक निरन्तरता, आपसी विश्वास र विकास सहकार्यको स्मरण गराएका छन् । टोकियोस्थित इम्पेरियल प्यालेसमा भएको शीष्टाचार भेटका क्रममा राष्ट्रपति पौडेलले ७० वर्ष लामो कूटनीतिक सम्बन्धलाई दुई देशबीचको मित्रताको महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे ।

राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले खेलेको भूमिकालाई ‘विश्वासिलो र दीर्घकालीन साझेदारी’ को संज्ञा दिँदै मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र सांस्कृतिक जगेर्नामा जापानी सहयोगले नेपाली जनताले प्रत्यक्ष लाभ लिएको स्मरण गराए ।

उनले नेपाल र जापानलाई जोड्ने साझा मूल्यका रूपमा गौतम बुद्धको शिक्षा र दर्शनको उल्लेख गर्दै बुद्धको जन्मस्थल लुम्बिनीले दुई देशका जनताबीच आत्मीय सम्बन्ध विकास गर्न सेतुको भूमिका खेलेको बताए । 

राष्ट्रपति पौडेलले उच्चस्तरीय भ्रमणहरूको आदान–प्रदानले सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आएको उल्लेख गर्दै सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले गरेको नेपाल भ्रमणको स्मरण गरे । काठमाडौं, भक्तपुर, पोखरा र लुम्बिनी भ्रमणले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई बलियो बनाएको उनको भनाइ थियो।

साथै, सन् २०२० मा आफूलाई ‘ग्राण्ड कर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट विभूषित गरिएकोमा राष्ट्रपति पौडेलले सम्राट र जापान सरकारप्रति आभार व्यक्त गरे ।  उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट जापानको सद्भावना र सहयोगप्रति धन्यवाद दिँदै सम्राट नारुहितो र साम्राज्ञीलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पनि गरे ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार