Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

हिमाली जिल्लामा अत्यधिक चिसो बढे दोस्रो चरणमा निर्वाचन हुन सक्छ : प्रधानमन्त्री कार्की

काठमाडाै‌ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय गरिएको निर्वाचनका क्रममा हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने बताएकी छन्।

पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी) द्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा सहभागी हुन आएकी प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले हाल सरकारको पूरा ध्यान निर्वाचनमै केन्द्रित रहेको बताउँदै निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन्। उनले हिमाली जिल्लामा सहज रूपमा निर्वाचन गराउन सरकारले विभिन्न तयारी गरिरहेको जानकारी दिँदै, गाडी चल्ने स्थानमा गाडीमार्फत मतदाता ओसारेर भए पनि निर्वाचन गर्नेबारे छलफल भइरहेको बताइन्।

‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
उनले यो निर्वाचन विशेष परिस्थितिमा हुन लागेको उल्लेख गर्दै निर्वाचनमा करिब ३० देखि ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको जानकारी दिइन्। देशमा स्थायित्व र शान्ति कायम गर्न यो निर्वाचन कोसेढुंगा सावित हुने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने विषयमा आफूलाई आजसम्म कसैले पनि औपचारिक रूपमा कुरा नगरेको स्पष्ट पार्दै अब निर्वाचन सर्ने सम्भावना नरहेको बताइन्। ‘सर्दै सर्दैन। निर्वाचन तोकिएकै समयमा हुन्छ,’ उनले भनिन्।

यसअघि विभिन्न माग राख्दै आएका समूहहरू समेत निर्वाचन प्रक्रियामा सहभागी भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सबैको शान्तिपूर्ण र उत्साहजनक सहभागिताका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार