NL न्यूज
काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल्न भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल युएईसँगको ‘वार्म–अप’ खेल आज साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ । नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा पर्सि बिहीबार क्यानडासँग खेल्ने कार्यक्रम रहेको छ ।
यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग तथा भारतमा एमसीए प्रेसिडेन्ट–इलेभेनसँग समान तीन–तीन अभ्यास खेल खेलेको थियो ।
विश्वकपको समूह चरणका सबै खेल नेपालले भारतको मुम्बईमा खेल्नेछ । नेपाल रहेको समूह ‘सी’ मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् ।
नेपालले माघ २५ गते आइतबार इङ्ल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। आईसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
विश्वकपमा समूह चरणअन्तर्गत नेपालको खेल
फेब्रुअरी १२– नेपाल भर्सेस इटाली
फेब्रुअरी १५ –मा नेपाल भर्सेस वेस्ट इन्डिज
फेब्रुअरी १७ – मा नेपाल भर्सेस स्कटल्यान्डसँग
समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ ।
विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
विश्वकपका लागि नेपाली टोली
कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम





प्रतिक्रिया दिनुहोस्